ओलीसँग महतोको गोप्य वार्ता, जसपाको ‘टुक्रा’ मिसिने सम्भावना



काठमाडौं, माघ । व्यक्तिगत स्वार्थका कारण संसद विघटन भएपछि सबैभन्दा भाँडभैलो सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र देखिएको छ ।

नेकपा विभाजित हुन सकेका छैनन् । नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीसँग रिसाएका पुष्पकमल दाहाल ‘प्रचण्ड’–माधवकुमार नेपाल समूहले अर्को गुट चलाउन थालेका छन् ।

ओली नेतृत्वको नेकपाले धुम्बाराहीस्थित पार्टी केन्द्रीय कार्यालय कब्जा गरेर बसेको छ । प्रचण्ड–माधव नेतृत्वको नेकपाले पूर्वमाओवादीको केन्द्रीय कार्यालयमा बैठकहरू गर्दै आएको छ ।

नेकपा फुट्नका लागि निर्वाचन कानूनले दिएको छैन । नेकपा कानूनी रुपमा फुट्न अध्यायदेश ल्याउनुपर्छ ।

प्रधानमन्त्री ओलीले निर्वाचन आयोगमा पार्टीलाई अध्यावधि गरिएको पत्र पठाएर जानकारी गराएका छन् । ओलीले पार्टी विभाजन भएको जानकारी आयोगलाई दिएका छैनन् । उनले कुनै पनि नेतालाई कारबाही गरेका छैनन् ।

ओलीको रणनीति चाल पाएका प्रचण्ड–माधव समूहले नेकपामा आफूहरू अधिकारिकताका लागि माग दाबी गरेका छैनन् । कानूनअनुसार ओली बलियो अवस्थामा छन् ।

राजनीतिक र संख्याको आधारमा हेर्ने हो भने प्रचण्ड–माधव समूह बलियो देखिन्छ । आयोगले यस्तो अवस्थामा नेकपा ओली समूह वा प्रचण्ड–माधव समूह कस्को हो भनेर फैसला सुनाउन समस्या भएको छ ।

नेकपाका नेता एवम् प्रधानमन्त्री ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले एउटा एफएमसँगको अन्तर्वार्तामा नेकपाको दाबी प्रचण्ड–माधव समूहले नगरेको बताए ।

‘प्रचण्ड–माधव समूहले नेकपा हामीलाई चाहियो भनेर निर्वाचन आयोगसँग दाबी गर्नुभएको छैन । हामीले उहाँहरूलाई कारबाही गरेका छैनौँ’, रिमालले भने, ‘कसैले पनि आधिकारिक नेकपाको माग नगरेपछि नेकपा ओलीनै आधिकारिक भएको पुष्टि भएको छ ।’ नेकपा विभाजन हुनेभन्दा पनि अलग–अलग गुट लिएर जाने सम्भावना छ ।

नेकपा नफुटेपछि केही महिनापछि नेकपा एकीकृत हुने सम्भावना ठूलो छ । अहिले एकअर्कालाई दोष दिइएपनि नेकपामा दुबै पक्षले पार्टीमा एकले अर्कालाई हटाएको छैन ।
नेकपालाई मिलाउन दुबै समूहका दोस्रो तहका नेताहरूले भूमिका खेलिरहेका छन् । छलफलहरू बाक्लै भएपनि कुरा मिलेको छैन ।

उता, प्रधानमन्त्री ओलीले जनता समाजवादी पार्टीको एउटा समूहलाई भित्र्याउन खोजेका छन् । हालै मात्रै जसपाका दुई जना केन्द्रीय सदस्यलाई ओलीले नेकपामा स्वागत गरिसकेका छन् ।

स्रोतका अनुसार जसपाका नेता राजेन्द्र महतोलाई नेकपामा भित्र्याउन ओलीले ठूलो प्रयास गरेका छन् । ओली र महतोबीच बेलाबेला भेटवार्ता भइरहेको नेकपाका एकजना केन्द्रीय सदस्यले बताए ।

जसपाका महन्थ ठाकुर र शरतसिंह भण्डारी प्रचण्ड–माधव समूहसँग मिलेर जाने योजना बनाएको चर्चा छ । ठाकुर र भण्डारीले प्रचण्ड–माधव समूहसँग गोप्य भेटवार्ताहरू गरेको स्रोतले जनाएको छ ।

ठाकुर र भण्डारीसँगै अन्य नेताहरूले डा.बाबुराम भट्टराई र उपेन्द्र यादवलाई मन पराएका छैनन् । जसपाभित्र पूर्व राजपाका नेताहरू रिसाएका छन् । बाबुराम र उपेन्द्रले तत्कालीन राजपाका नेताहरूलाई मन पराउँदैनन् । उनीहरूबीचको सम्बन्ध राम्रो छैन ।

नेकपाभित्रको विवाद सरेर जसपामा पुगेको छ । जसपाभित्रको विवादका कुराहरू धेरै बाहिर आएका छैनन् । तर, जसपाभित्र विभाजनको ठूलो आशंका गरिएको छ

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्