कर्णालीबासीले मनाए ‘छोरा’ तिहार



सुर्खेत । भाइतिहार सकिएको दुई महिनापछि कर्णालीबासीले छोरा तिहार पनि मनाएका छन् । नेपालमै कतै नमनाइने छोरा तिहार प्रत्येक वर्ष पौष शुक्ल द्वितीयाका दिन कर्णाली प्रदेशका जुम्ला र डोल्पा लगायतका जिल्लाका सर्वसाधारणले धुमधामका साथ मनाएका हुन् ।

आज बिहानै नुहाइधुवाइ गरेर छोराहरुले आमाको हातबाट टीका थाप्ने प्रचलन रहेको छ । भाइटीकाजस्तै छोरा तिहारमा पनि आमाले छोरालाई निधारमा अक्षता, गलामा माला र सगुनको रूपमा घरमै बनाइएको सेलरोटी, फिनीरोटी, चिनीरोटी जस्ता परिकारसहित छोरालाई टीका लगाउने प्रचलन छ । टीकासँगै छोरालाई दीर्घायू र प्रगतिको कामना गर्दै आशीर्वाद दिने गरिन्छ ।

छोराले पनि आमालाई दक्षिणाको रूपमा आफूसक्दो पैसा, धोती चोलीलगायतका कोसेली दिएर टीका थाप्ने गरिन्छ । आमाको हातबाट टीका थाप्नका लागि जिल्ला बाहिर पुगेका छोरा पनि आजको दिन घर पुग्ने गर्दछन् । कुनै काम विशेषले घर पुग्न नसक्ने छोराले टेलिफोनबाटै भए पनि आशीर्वाद लिने र आमाले पनि छोराका लागि बनाएको कोसेली छुट्याएर राखिदिने गरिन्छ ।

छोरा तिहारमा आमाको हातबाट टीका थापिसकेपछि सम्पूर्ण पुरुष जम्मा भई प्रत्येक घरघर तथा गाउँबस्तीमा पुगेर भाइटीकामा देउसी भनेजस्तै भैलो खेल्ने प्रचलन छ । यसरी भैलो खेलेर उठेको रकमबाट धारा, पधेँरा, बाटो लगायतका सार्वजानिक सम्पदा मर्मतसम्भार गरिन्छ भने बचेको रकमबाट वनभोज जाने गरिन्छ ।

आजको दिनमा महिला पनि सार्वजनिकस्थलमा भेला भएर चुट्किला देउडा खेलेर रमाइलो गर्ने र एकअर्काको पिरव्यथा साटासाट गर्ने गरिन्छ । डोल्पालगायत कर्णालीका अन्य जिल्लामा मनाइने छोरा तिहार कर्णालीमा कतै पनि नमनाइने त्रिपुरासुन्दरी नगरपालिका–१ का स्थानीयवासी रमानन्द उपाध्यायले बताए ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्