न्यायाधीशहरुले प्रमलाई भेटेका छैनन्ः सर्वोच्च



काठमाडौं । सर्वोच्च अदालतले चार न्यायाधीशहरूले प्रधानमन्त्रीलाई भेटेको भन्ने समाचारको खण्डन गरेको छ । शुक्रबार केही अनलाइन सञ्चारमाध्यममा संवैधानिक इजलासका चार जना न्यायाधीशले प्रधानमन्त्री केपी ओलीसँग गोप्य रूपमा भेटेको खबर आएको थियो ।

समाचारमा प्रतिनिधि सभा विघटनको सुनुवाइअघि न्यायाधीशहरू सपना मल्ल, हरिकृष्ण कार्की, मीरा खड्का र दीपक कार्कीले विभिन्न समयमा प्रधानमन्त्रीसँग गोप्य रूपमा भेटेको जनाइएको थियो । यो खबर खण्डन गर्दै सर्वोच्च अदालतले विज्ञप्ति जारी गरी भनेको छ, ‘न्यायपालिकाको स्वच्छता र अदालतप्रतिको जनआस्थामा प्रतिकूल प्रभाव पर्नेगरी मिथ्यापूर्ण, भ्रामक, अतिरञ्जित, असत्य र कपोकल्पित समाचार सम्प्रेषण हुनु दुःखद र खेदजनक विषय हो ।

अदालतमा विचाराधीन मुद्दामा अनावश्यक आशंका र भ्रम सिर्जना गर्ने गरी, सत्य र यथार्थ नबुझी समाचार प्रकाशन गर्नाले न्यायपालिकाप्रतिको विश्वसनीयता र आम नागरिकको यसप्रतिको आस्थामा खलल पुग्न जाने तथा त्यस प्रकारको कामबाट सम्पूर्ण प्रेस जगतप्रतिको विश्वसनीयतामा पनि आँच आउन सक्ने अवस्था रहन्छ ।

यसप्रकारका कार्यहरू पत्रकार आचारसंहिता र कानुन प्रतिकूल पनि हुनाले कानुनी दायरामा आउन सक्नेतर्फ सचेत हुन ध्यानाकर्षण गराउँदै सम्प्रेषित समाचारको भ्रममा नपर्न सबैमा अनुरोध छु ।’

प्रधानमन्त्रीसँग भेट गरेका भनिएका चार न्यायाधीशहरूमध्ये तीन जनाले पनि यो समाचारको खण्डन गरेका छन् । यस्ता समाचारहरू कसरी आउँछन् स्रोत चाहिने पनि रहेनछ । सोध्नु पनि नपर्ने रहेछ, न्यायाधीश हरिकृष्ण कार्कीले भने, ‘म त कतै गएको छैन ।

प्रधानमन्त्रीलाई भेटेको भन्ने समाचार आएको रहेछ । खै कसरी लेखेको होरु मैले उहाँलाई भेटेको छैन । मलाई बोलाइएको पनि छैन ।’ त्यस्तै अर्का न्यायाधीश दीपक कार्कीले पनि यो तथ्यहीन समाचार आएकामा दुःख लागेको बताए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्