सैघाली खबर,जुम्ला, २६ पुस.गैरकानुनी रुपमा भारतको हिमाञ्चल प्रदेशमा लामा भाषा पढाउने भन्दै बसमा लैजाँदै गरेको अबस्थामा २० बालबालिकाको प्रहरीले उद्धार गरेको छ ।प्रहरीले पुस २५ गते तिला गाउँपालिकाको कुडारीबाट उद्धार गरेको हो । बालबालिकाले खचाखच भरिएको बसलाई प्रहरीले चेकजाँच गर्दा भारततिर लैजाने कुनै आधार नभेटिएपछि नियन्त्रणमा लिएर बालबालिकाको उद्धार गरेको हो ।
गैरकानुनी रुपमा जिल्ला बाहिर लैँजादै गरेको आरोपमा पातारासी गाउँपालिका ३ का २९ बर्षीय छिरिङ तुण्डुक तामाङ र सोही वडाका ३२ बर्षीय कार्मा तामाङलाई पक्राउ गरी अनुसन्धान गरिएको प्रहरी निरिक्षक चुडामणि पुनले बताए ।
लामा भाषा पढाईदिने भनेर अभिभावकलाई आश्वासनमा पारेर उनीहरुले बालबालिकालाई भारत लैजान लागेको अवस्थामा बसलाई नियन्त्रणमा लिई बालबालिकाको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरिक्षक पुनले बताए । उनका अनुसार उद्धार गरिएका बालबालिका ७ देखि १४ वर्ष उमेर समूहका छन् ।
एउटै बसमा धेरै बच्चा लैँजादै गरेको देखेपछि सोधपुछ गरेर प्रहरीले पक्राउ गरेको हो । निरिक्षक पुनका अनुसार दुई जनालाई अनुसन्धानका लागि हिरासतमा राखिएको छ । बालबालिकालाई प्रहरीको निगरानीमा होटेलमा राखिएको छ ।
उद्धार गरिएका २० जना बालबालिकाको नाम र फोटो सार्वजनिक गरिएको छैन । उद्धार गरिएका बालबालिका बुढा, बोहोरा, महतारा र कामी जातीका रहेका छन् ।
उद्धार गरिएका बालबालिकाका अभिभावकलाई छलफलमा राखेर अभिभावकलाई बुझाउने जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।