मलेसियामा कैयौं नेपालीको गयो ज्यान ,सरकारी निकाय मौन बेवारिसे बन्दै श्रमिकको मृत्यु



माघ ४ , काठमाडौं । बैदेशिक रोजगारका लागि मलेसियामा रहेका आधा दर्जन बढी नेपालीको ज्यान गएको छ। मलेसियामा गत हप्ता ८ जना नेपाली कामदारले ज्यान गुमाएका छन् । ज्यान गुमाउने ८ जनामध्ये ५ जनाले आत्महत्याको बाटो रोजेका छन् । मृत्यु भएका अन्य तीन जनामध्ये एकजनाको सडक दुर्घटना, एकजनाको सुतेको सुत्यै र अर्काको उपचारको क्रममा मृत्यु भएको हो ।

नेपाली कामदारहरुले निरन्तररुपमा आत्महत्या गरेर ज्यान गुमाउने गरेका भएपनि सरकारी स्तरबाट अनुसन्धान र रोकथामको प्रयास हुन सकेको छैन । आत्महत्या गरेकामध्ये कतिपय लामो समयदेखि मलेसियामा अवैधानिकरुपमा बस्न बाध्य भएकाहरु पनि छन् । आत्महत्याको पछाडि बिछोडिएको प्रेम सम्बन्ध, बढ्दो पारिवारिक बेमेल र आर्थिक दवाब रहने गरेको भएपनि सरकारी निकायको त्यसतर्फ ध्यान नगएको गुनासो नेपाली कामदारहरुकोे छ ।

जनवरी १२ तारेखमा ताप्लेजुङका बिरुलाल लिम्बू शौचालयमा झुन्डिएको अवस्थामा मृत भेटिए । उनी मलेसियाको केलाङ क्षेत्रमा सुरक्षा कम्पनीमा कार्यरत थिए । उनकोे शव पोस्टमार्टमका लागि स्थानीय अस्पतालमा राखिएको छ । मलेसियाको आम्पाङका सुरक्षागार्डको रुपमा कार्यरत नुवाकोटका चित्र बहादुरको पनि मृत्यु भएको छ । उनी ड्युटी गरिरहेको बेला अचानक लडेका थिए । पछि उनको हृदयघातबाट मृत्यु भएको बताइएको छ ।

सल्यानबाट रोजगारीका लागि मलेसियाको जोहोरबारु गएका सल्यानका नरेश रानाले आफू बस्ने कोठामा रहेको सिलिङ पंखामा झुन्डिएर आत्महत्या गरेका छन् । उनले जनवरी १३ तारेखका दिन आत्महत्या गरेका थिए । उनको शब पोस्टमार्टमका लागी स्थानीय अस्पतालमा राखिएको नेपाली कामदारहरुले जनाएका छन् ।

त्यस्तै सर्लाही मझुरवाका मनोज राउतले पनि आफु बसी आएको कोठाको पंखामा झिन्डिएर आत्महत्या गरेका छन् । उनीपनि अवैधानिक हैसियतमा मलेसियामा बसीरहेको नेपालीहरुले बताएका छन् । उनको शब पनि स्थानीय अस्पतालमा रहेको छ । मलेसियाको पेनाङमा यम कुमार खतिवडाले पनि आफ्नै कोठाको पंखामा झुन्डिएर आत्महत्या गरेका हुन् । पाँचथरका खतिवडा पनि अवैधानिक हैसियतमा रहेका थिए । खतिवडाको शव पनि स्थानीय प्रहरीले पोस्टमार्टमका लागि अस्पतालमा राखेको छ ।

मलेसियामै कार्यरत सोलुखुम्बुका प्रेम बहादुर बिश्वकर्माको उपचारको क्रममा मृत्यु भएको छ । उनी डेढ दुई महिनायता विरामी अवस्थामा रहेका थिए । उनको टाउकोमा रगत जमेको, किड्नीमा समस्या देखिएको बताइएको छ । त्यस्तै साहआलम सेक्सन यु १ मा विगत ३ वर्षदेखि कार्यरत अछाम घुघरकोट साँफे नगरपालिका १० निवासी कमल कुमार खड्काले आफ्नै कोठामा घाँटीमा पासो लगाई आत्महत्या गरेका छन् । यस्तै नेपाल फर्किने क्रममा सडक दुर्घटनामा परी झापाका सतल सिंह मेचेको मुत्यु भएको छ ।

हाल मलेसियामा साढे तीन लाख बढी नेपाली कामदार कार्यरत रहेका छन् । मलेसियामा कार्यस्थलमा हुने दुर्घटना, रोग वा अन्य कारणले भन्दा नेपाली कामदारहरुले बढी मात्रामा आत्महत्या गरेर ज्यान फालिरहका छन् । तर मनोसामाजिक परामर्श जस्ता मानसिक उपचारमार्फत आत्मबल बढाउन नसक्दा मृत्युको संख्या बढीरहको छ । बचाउन सकिनेहरुलाई पनि बचाउन सकिएको छैन । यसमा नेपाली दूतावासले पनि पहल बढाउनु पर्ने देखिएको छ ।

पछिल्ला दिनमा बढेको कोरोना भाइरस संक्रमणले समस्यामा रहेको बताइएको छ । मलेसियास्थित राल्को प्लाष्टिक कम्पनीमा कार्यरत ४ जना नेपालीलाई कोरोना भाइरस संक्रमण भएको छ । उक्त कम्पनीमा ७० जना भन्दा बढी नेपाली कार्यरत रहेको बताइएको छ ।

विदेशी कामदारको बसोबास साँघुरो भएका कारण संक्रमण विस्तार तीव्र भएको बताइएको छ । शनिबार साँझसम्म मलेसियामा १ लाख ५५ हजार ९५ जनामा संक्रमण देखिएको छ । हालसम्म मलेसियामा कोभिड–१९ का कारण ५ सय ९४ जनाको मृत्यु भएको छ भने ३७ हजार बढी संक्रमित अवस्थामा रहेका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्