sarbochcha adalat

Banner First

संवैधानिक इजलासमा आइतबारदेखि निरन्तर सुनुवाइ सुरू,प्रमाण ल्याउ आदेश जारी

By Thah Online

January 17, 2021

माघ ४, काठमाडौँ  । प्रतिनिधि सभा विघटनको मुद्दा सुनुवाई हुने भएको छ । प्रतिनिधि सभा विघटनको मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासमा आइतबारदेखि निरन्तर सुनुवाइ सुरू भएको छ। बहसमा रिट निवेदकका वकिलहरूले संसद विघटनसम्बन्धी संविधान सभामा भएको छलफलको रेकर्ड मगाउन माग गरेका छन्।

बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले इजलाससमक्ष सो माग गरेका हुन्। त्रिपाठीको मागमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले यो कुरा पहिला नै आएको छ, हाम्रो नोटमा छ। आवश्यक परे रेकर्ड मगाउँछौं।

संविधान सभाले संविधान लेख्दा प्रधानमन्त्रीलाई संसद विघटन गर्ने अधिकार दिने वा नदिने भन्नेमा लामो बहस भएको थियो।

२०४७ सालको संविधानमा प्रधानमन्त्रीलाई त्यस्तो अधिकार दिँदा संसदले आफ्नो कार्यकाल पूरा गर्न नपाएको र राजनीतिक अस्थिरता आएको भन्दै धेरैले संसद विघटनको अधिकार प्रधानमन्त्रीलाई दिन नहुने तर्क गरेका थिए।

२०४७ सालको संविधानपछि र राजा ज्ञानेन्द्रले २०६१ सालमा शासन सत्ता आफ्नो हातमा लिनुअघि भएका तीनै वटा संसदीय निर्वाचनपछि प्रधानमन्त्रीहरूले संसद विघटनको सिफारिस गरेका थिए।

२०५१ सालमा प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला, २०५३ सालमा मनमोहन अधिकारी र २०५९ सालमा शेरबहादुर देउवाले संसद विघटनको सिफारिस गरेका थिए।

यिनै अनुभव र राजनीतिक स्थिरताका पक्षमा व्यक्त मतको सम्मान गर्दै संविधान सभा प्रधानमन्त्रीलाई संसद विघटन गर्न नदिने निष्कर्षमा पुगेको थियो। सोहीअनुसार संविधान सभाबाट २०७२ सालमा जारी भएको संविधानमा २०४७ सालको संविधानले प्रधानमन्त्रीलाई दिएको संसद विघटन गर्न दिएको अधिकार राखिएको थिएन।

त्यो बेलाका छलफलका नोट र अडिओ रेकर्ड सुरक्षित राखिएका छन्। संविधानले आफूलाई संसद विघटन गर्न नरोकेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको सिफारिस गरेपछि संविधान सभामा भएको बहसको रेकर्ड मगाउनु पर्ने माग इजलासमा उठेको हो।

आजै इजलासमा रिट निवेदकका वकिलहरूले संसद विघटनसम्बन्धी मुद्दाको बहस गर्न अदालतमा निश्चित समय तोकिनु पर्ने माग पनि गरेका छन्। दर्जनौं वकिलहरूले बहसका लागि नाम टिपाएपछि बहस अनावश्यक रूपमा लम्बिँदै जाने र फैसला आउन समय लाग्ने सम्भावनाका बीच यस्तो माग गरिएको हो।

प्रधानन्यायाधीश राणाले निश्चित समय तोक्न नसकिने जवाफ दिन्छन्। त्यसपछि रिट पक्षका वकिलहरूले बहस सुरू गर्ने पालाे छ । अहिले अधिवक्ता सन्तोष भण्डारीले बहस गरिरहेका छन्।