देशमा रोजगारी नपाएपछि ६ महिनामा ७२ हजार नेपाली विदेशीय



काठमाडौं । स्वदेशमै रोजगारीको अवसर नपाएपछि कोरोना भाइरसको जोखिमकाबीच पनि नेपाली कामदारहरू वैदेशिक रोजगारीमा जान बाध्य भएका छन् । कोरोना विपद शुरूहुँदा विदेशबाट फर्केका कामदारलाई नेपालमा नै रोजगारी दिने घोषणा सरकारले गरेको थियो ।

तर, त्यसअनुसार रोजगारी सृजना हुन नसक्दा कोरोना त्रासकैबीच पनि हजारौं नेपाली वैदेशिक रोजगारीमा गएको सरकारी तथ्यांकले देखाएको छ । विदेशबाट नेपाल फर्किएका र नेपालमै रहेका युवाहरू वैदेशिक रोजगारी गएका हुन् । नेपाल राष्ट्र बैंकको चालू आर्थिक वर्षको ५ महीनासम्मको तथ्यांक र वैदेशिक रोजगार विभाग पुस महिनाको तथ्यांक जोेड्दा चालू आवको ६ महिनामा ७२ हजार ३६६ जना नेपाली वैदेशिक रोजगारीमा गएका छन् ।

त्यसमा ३० हजार ८३७ जना कामदार नयाँ श्रमस्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका हुन् । यस्तै ४१ हजार ५२९ जना पुनः श्रमस्वीकृति अर्थात बिदामा आएर श्रमगन्तव्य मुलुकमा गएको देखिन्छ ।

वैदेशिक रोजगार विभागका प्रवक्ता टीकाराम नेउपानेले रोजगारका सम्बन्धमा सरकारबाट विशेष स्कीम नआउँदा कोरोना विपदमा पनि नेपालीहरू विदेशिन बाध्य भएको बताए । ‘कोरोना विपद शुरूहुँदा विदेशमा नेपालीहरूले रोजगार गुमाउन थालेपछि सरकारले नेपालमै रोजगारी दिने आश्वासन देखायो ।

तर, त्यसमा उपलब्धि केही भएन,’ उनले भने, ‘त्यसमाथि अहिले राजनीतिक अस्थिरता आएको छ । त्यसको असरले पनि यस परिस्थतिमा नेपालीहरू वैदेशिक रोजगारीमा जान बाध्य भएका छन् ।’
आर्थिक अभियान दैनिकबाट ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्