बागमती प्रदेशका पत्रकारको मोबाइल पत्रकारिता (मोजो) तालिम अयोध्यापुरीमा शुरु



५ माघ,चितवन।
सञ्चार रजिष्ट्रारको कार्यालय बागमती प्रदेशले सोमबार चितवनको माडी नगरपालिकास्थित अयोध्यापुरी होमस्टेमा मल्टिमिडिया तथा मोबाइल पत्रकारिता (मोजो) तालिम शुरु गरेको छ । पत्रकारितामा नवितम प्रयोगलाई विस्तार र विकास गराउन बागमती प्रदेशमा क्रियाशिल पत्रकारको क्षमता बिकास गर्ने उद्देश्यले २० जना पत्रकारलाई सहभागी गराएर यो तालिम आयोजना गरिएको सञ्चार रजिष्ट्रारको कार्यालयले जनाएको छ ।
तालिमको उदघाटन गर्दै माडी नगरपालिकाका प्रमुख ठाकुरप्रसाद ढकालले माडीमा बसेर मल्टिमिडिया र यहाँको समाज अध्ययन गरिदिन सहभागी पत्रकारलाई आग्रह गर्नु भयो । संविधानले मौलिक हकका रुपमा प्रत्याभुत गरेको शिक्षा,स्वास्थ्य र रोजगारीलाई व्यवहारमा लागू गराउने प्रयास माडीमा थालिएको नगरप्रमुख ढकालले बताउनुभयो ।
कार्यक्रममा सञ्चार रजिष्ट्रार रेवती प्रसाद सापकोटाले पत्रकारलाई आधुनिक र दक्ष बनाउन क्षमता विकास कार्यक्रम सञ्चालन गरिएको र त्यसले पत्रकारितामा पर्ने प्रभावका बारेमा जानकारी गराउनुभयो । इन्टरनेटमा सहज पहुँचसँगै लोकल ग्लोबलमा र ग्लोबल लोकल भएको परिस्थतिमा मोबाइललाई पत्रकारले प्रयोग गर्ने ज्ञान तालिममा दिन खोजिएको सञ्चार रजिष्ट्रार सापकोटाले बताउनुभयो । सञ्चार रजिष्ट्रार सापकोटाका अनुसार आगामी दिनमा मल्टिमिडिया र डिजिटल पत्रकारिताका अन्य बिषयमा पनि तालिम सञ्चालन गर्ने तयारी भइरहेको छ ।
चारैतिर जंगलको वीचमा रहेको माडीको साँस्कृतिक,धार्मिक र सामाजिक महत्व बुझदै डिजिटल पत्रकारिता सिक्ने अवसर जुटाउन अयोध्यापुरी होमस्टेमा तालिम आयोजना गरिएको सञ्चार रजिष्ट्रार कार्यालयले जनाएको छ । शिक्षामा मणि बन्दै गएको माडी बागमती प्रदेशको नमूनायुक्त नगरपालिका पनि हो ।
कार्यक्रममा माडी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुष्प ढकालले पत्रकारिता र सञ्चार माध्यमको गुणस्तर विकास गर्नका लागि यस्ता तालिम पत्रकारका लागि उपयोगी हुने बिश्वास व्यक्त गर्नुभयो । माडी नगरपालिकाले सामाजिक विकासमा पुरयाएको सकारात्मक पक्षका बारेमा पनि बुझिदिन उहाँले अनुरोध गर्नुभयो ।
कार्यक्रममा अयोध्यापुरी सामुदायिक होम स्टे सञ्चालक समितिका अध्यक्ष मोहनबहादुर पुनले अयोध्यापुरी होमस्टेमा रहँदा आफनै घरमा बसे जस्तै अनुभव गरिदिन र रचनात्मक सुझाव दिन पत्रकारहरुलाई अनुरोध गर्नुभयो ।
पत्रकार बिकास कार्की र बिजय गजमेरले मल्टिमिडिया तथा मोबाइल पत्रकारिता तालिमका बिबिध पक्षमा तालिम दिनु हुनेछ । यो तालिम शुक्रबारसम्म सञ्चालन हुनेछ ।
सञ्चार रजिष्ट्रारको कार्यालय बागमती प्रदेशले अघिल्लो बर्ष पनि यस्ता तीन वटा तालिम सञ्चालन गरेको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्