हुस्सु र कुहिरोले तराई मधेशका अधिकांश जिल्ला प्रभावित



६ माघ, काठमाडौं । तराई मधेशका अधिकांश जिल्लामा बाक्लो हुस्सु र कुहिरो लागेको छ ।

आज बिहान कुहिरोका कारण रुपन्देहीको भैरहवा र मोरङको विराटनगरमा पारदर्शिता (भिजिबिलिटी) सबैभन्दा कम छ । पौने ९ बजेको रेकर्डअनुसार यी स्थानमा ५० मिटर पारदर्शिता रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यसैगरी जनकपुरमा १ सय मिटर, सिमरामा २ सय मिटर र नेपालगञ्जमा २ हजार मिटर पारदर्शिता छ । सबैभन्दा बढी पारदर्शिता धनगढीमा ६ हजार मिटर रहेको महाशाखाको बुलेटिनमा उल्लेख छ । महाशाखाका अनुसार हुस्सु लागेको सिमरामा न्यूनतम तापक्रम ८.५ डिग्री सेल्सियस छ ।

पश्चिम, मध्य र पूर्वी तराईका सबैजसो जिल्लामा लागेको हुस्सु र कुहिरो दिउँसोपछि सुधार हुनसक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । यद्यपि चिसोपना बढ्न सक्ने भएकाले चिसोबाट बच्ने उपायहरु अपनाउन मौसमविदले सुझावसमेत दिएका छन् ।

महाशाखाले कञ्चनपुर, कैलाली, बर्दिया, बाँके, दाङ, कपिलवस्तु, रुपन्देही, नवलपरासी पूर्व र नवलपरासी पश्चिमलाई पश्चिम तराई मानेको छ ।

यसैगरी मध्य तराईमा चितवन, पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी र धनुषालाई राखिएको छ ।पूर्व तराईमा सिराहा, सप्तरी, सुनसरी, मोरङ र झापा जिल्ला छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्