जाडो भयो भन्दै आगो बालेर नसुत्न आग्रह



राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आगो बालेर सुत्दा विभिन्न जिल्लामा मानवीय क्षति भएको भन्दै सचेत हुन सर्वसाधारणमा अनुरोध गरेको छ । प्राधिकरणले घरमा जाडो भयो भनेर झ्याल ढोका थुनेर आगो बाल्दा निसास्सिएर मानिसको ज्यान जान सक्ने भन्दै त्यसतर्फ ध्यान दिन आग्रह गरेको हो ।

प्राधिकरणका प्रमुख अनिल पोखरेलले विभिन्न जिल्लामा आगो बालेर बस्दा वा सुत्दा कपडामा आगो सल्किएर घटना भएको जानकारी दिए । पछिल्लो पटक काठमाडौँ महानगरपालिका–१४ कलङ्कीस्थित खड्कागाउँका ८४ वर्षीय एक पुरुषको आगलागीबाट मृत्यु भएको छ ।

सोमबार कोठामा हिटर बालेर सुतेकोमा ओछ्यानमा आगो सल्किँदा उनको घटनास्थलमा नै मृत्यु भएको प्राधिकरणले आज एक सूचना जारी गरी जनाएको छ । यस्तै कैलालीको धनगढीस्थित भन्सार रोडमा एक महिला आगो ताप्ने क्रममा कपडामा आगो सल्किन गई घाइते भएको जनाइएको छ ।

पाल्पाको रैनादेवी छहरा गाउँपालिका-६ लोकासिङस्थित एक गोठ र भान्सा घरमा अचानक आगलागी हुँदा गोठ पूर्णरुपमा नष्ट भएको र सो क्रममा झण्डै चारलाखको क्षति भएको जनाइएको छ ।

अछामको मेल्लेख गाउँपालिका–३ दर्बास्थित एक किराना पसलमा अचानक आगलागी हुँदा पसल, एउटा मेडिकल पसल र एक सिलाइकटाइको पसलमा समेत आगलागी भएको प्राधिकरणले आज जारी गरेको सूचनामा उल्लेख छ । गएको वैशाख यता एक हजार ५०० आगलागीका घटनामा ४९ जनाको मृत्यु भइसकेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्