‘१५ वर्ष पार्टीको महासचिव भएर केपी ओलीलाई सञ्चालन गरेको मान्छे हुँ’ : नेपाल



काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी नेकपा अध्यक्ष माधवकुमार नेपालले प्रतिनिधिसभा विघटनपछि प्रधानमन्त्री केपी ओली कामचलाउ भएको बताएका छन्। प्रतिनिधिसभा सदस्य नै प्रधानमन्त्री हुने भन्दै नेपालले ओलीले कि कामचलाउ भन्नुपर्ने कि कुर्सी छोड्नुपर्ने बताएका हुन्।

आफू प्रचण्डको कार्यकर्ता भनी ओलीले गरेको टिप्पणीको जवाफ दिँदै उनले ओरिजिनल एमाले केपी ओली नभई आफू भएको जिकिर गरे। नेपालले आफू पार्टी महासचिव रहेको बेला ओलीलाई सञ्चालन गरेको बताए।

‘१५ वर्ष पार्टीको महासचिव भएर केपी ओलीलाई सञ्चालन गरेको मान्छे हुँ,’ उनले भने, ‘सारा पार्टीको जग खडा गरियो। पार्टीको भवन बनाइयो। देश दुनियाँमा परिचित गराइयो। अनि अहिले आएर पार्टीमा भाँडभैलो मच्चाउने केपी ओली। अनि हामी तर्सिनु पर्ने ?’

एकीकरणपछि एमाले र माओवादी पार्टी इतिहास भइसकेको भन्दै उनले अब ती पार्टी नब्युँतिने बताए। नेपालले भने, ‘एमाले र माओवादी इतिहासका कुरा हून। ती व्यूतिदिदैनन्। एक भइसकेको छ। दुई बिचको जुन सम्बन्ध हो त्यो विश्वासको जगमा छ।’

नेपालले लोकतन्त्र, गणतन्त्र, संघीयता, संविधानलगायतका राजनीतिक परिवर्तनहरू संकटमा परेको भन्दै गलत कामको विरुद्ध उभिनुपर्ने बताए। उनले अहिले ओलीका साइवर सेना सक्रिय रहेको सुनेको भन्दै तिनीहरूले केही गर्न नसक्ने बताए।

‘अरिगांलको फौज लागिरहेको छ रे। त्यो अरिगांलको गोलोलाई तपाइले बिदा गरिदिनुहोस्। अरिगांलको गोला र झुसिल्कराहरुले केही गर्न सक्दैनन्। आत्तिनुपर्ने केही छैनन्। त्यो साइबार सेनाले केही गर्न सक्दैन,’ नेपाले भने, ‘किन भने सत्य उनीहरूको पक्षमा छैन। सत्य र न्याय हाम्रो पक्षमा छ। तथ्यले नै सत्यको प्रमाण दिने गर्दछ। ती प्रमाणहरू हामीसँग छ।’

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्