नेपाल बन्द सफल बनाउन नेकपा रोल्पाको आह्वान



माघ ६, काठमाडौँ । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी रोल्पाले आफ्नो पार्टीले गरेको नेपाल बन्द सफल बनाउन आह्वान गरेको छ ।

पार्टीका केन्द्रीय सचिवालय सदस्य तथा विदेश विभाग प्रमुख क. धर्मेन्द्र बास्तोला ‘कञ्चन’ लगायत नेता–कार्यकर्ताहरूको गिरफ्तारीविरुद्ध पार्टी केन्द्रले घोषणा गरेको माघ १० गतेको नेपाल बन्दलगायत सङ्घर्षको कार्यक्रम सफल पार्न सहयोग गर्न रोल्पाबासीलाई आह्वान गरेको हो ।

सोमबार पार्टी इन्चार्ज मानव र सेक्रेटरी विस्फोटले जारी गरेको विज्ञप्तिमा अर्को निर्णय नहोउन्जेलसम्मका लागि स्वेच्छिक आर्थिक सहयोग बन्द गरिएको पनि जनाइएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो महान् तथा जनप्रिय पार्टी नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सचिवालय सदस्य तथा विदेश विभाग प्रमुख क. धर्मेन्द्र बास्तोला ‘कञ्चन’ लगायत नेता–कार्यकर्ताहरूको सामाजिक दलाल पुँजीवादी केपी वली सरकारले गरेको गैरन्यायिक गिरफ्तारीविरुद्ध पार्टी केन्द्रले घोषणा गरेको माघ १० गतेको नेपाल बन्दलगायत सङ्घर्षको कार्यक्रमलाई रोल्पामा पूर्ण रूपमा सहयोग गरी सफल पारिदिनुहुन शिक्षक, विद्यार्थी, कर्मचारी, पत्रकार, वकिल, बुद्धिजीवी, व्यापारी, यातायात व्यवसायीलगायत आमरोल्पालीहरूमा अनुरोध गरिन्छ ।’

नेकपा रोल्पाले एकीकृत जनक्रान्तिमार्फत वैज्ञानिक समाजवाद स्थापनाका लागि गर्दै आएको स्वेच्छिक आर्थिक सहयोग अर्को निर्णय नहुँदासम्मका लागि रोल्पामा स्थगित गरिएको हुँदा आर्थिक सहयोग नदिन–नलिन पनि विज्ञप्तिमार्फत जानकारी गराएको छ ।

आफ्नो पार्टीको नाम लिएर केही भिजिलन्तेहरूले आर्थिकलगायतको गतिविधि मच्चाएर पार्टीलाई बदनाम बनाएको जनाउदै त्यस्तालाई कडाभन्दा कडा कारबाही गर्न पार्टी सधैँ योग्य र तत्पर रहेको बताएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्