जनक नेपाली
दाङ २७ पुस । स्थानिय निकायको पुनःसंरचना संगै दाङका अधिकासं स्थानिय तहमा कर्मचारीको अभाव देखिएको छ । कर्मचारी अभाब देखिएपछि जिल्लाकाअधिकासं स्थानिय निकायहरुले खेताला कर्मचारी राखेर कामकाज सुरु गरेका छन् । कर्मचारीको अभाव हुदा स्थानिय निकायबाट सहज रुपमा सेवा पाउन नसकेको सर्व साधारणले गुनासो समेत गरेका छन् । जिल्लाको घोराही ,तुलसीपुर उपमहानगरपालिका, लमही नगरपालिकाका साथै जिल्लाका सबै स्थानिय तहमा दरवन्दी अनुसार कर्मचारी नहुदा सेवा प्रवाहमा समस्या भएको जिल्ला समन्वय समितिका प्रमुख भरतबहादुर बुढाथोकीले वताउनुभयो ।
सरकारले समयमै कर्मचारी समायोजना गर्न नसक्दा कर्मचारी अभाब भएको स्थानिय विकास अधिकारी बुढाथोकीले वताउँनुभयो । कार्यालयका तर्फबाट जिल्लामा आबश्यक कर्मचारीको मागगर्दै पटक÷ पटक सामान्य प्रशासन र संघीय तथा स्थानीय विकास मन्त्रालयमा फाईल पठाएपनि उक्त फाईलका बारेमा कुनै सुनुवाई नभएको बुढाथोकीको भनाई छ । सामान्य प्रशासन र स्थानिय विकास मन्त्रालयबाट कर्मचारी परिचालन नहुदा समस्या भएको बुढाथोकीले वताउँनुभयो ।
१२ जना कर्मचारी बाटमै हराए
यस्तै सामान्य प्रशासन मन्त्रालय र संघीय तथा स्थानिय मन्त्रालयबाट खटी आएका १२ कर्मचारी बाटै हराएका छन् । जिल्लामा कर्मचारीको अभाब भएपछि जिल्ला प्रशासन र जिल्ला समन्वय समिति मार्फत कर्मचारी मागगर्दे मन्त्रालयलाई पत्राचार गरिएको थियो । त्यस लगतै जिल्लाका लागि १२ जना कर्मचारी लागि सिफारिस गरी पठाएको । मन्त्रालयबाट कर्मचारी पठाएको पत्र जिल्ला समन्वय समिति आएपनि कर्मचारी नआएको प्रमुख बुढाथोकीले वताउनुभयो । कार्यालयमा कर्मचारी उपस्थित नहुदा कामकाजमा समस्या भएको उहाँले वताउनुभयो ।
घोराही उपमहानगरपालिका मेयर नरुलाल चौधरीले स्थानिय तहका कर्मचारी नहुदा कामकाजमा समस्या भएको वताउनु भएको छ । तत्कालका लागि घोराही उपमहानगरपालिका झण्डै १ सय ५० जना कर्मचारी परिचालित भएपनि उक्त सँख्या अपुग भएको मेयर चौधरीले वताउनुभयो । जिल्ला कर्षि विकास कार्यालय, पशु कार्यालय, घरेलु उद्योग कार्यालय जिल्ला समन्वय समिति मार्फत कर्मचारी झिकाई कामकाज अगाडी बढाएको वताउँनुभयो । कार्यालयमा हाल अमीन, ईन्जिनिएर कार्यालय र अन्य प्रविधीक कर्मचारीको अभाव भएको मेयर चौधरीले बताउनुभयो ।
तुलसीपुरका कार्यकारी अधिकृत टोपेन्द्र केसीले प्रत्येक वडा सुब्बा, नासु लेखापाल र कम्युटर अपरेटको अभाब देखिएको वताउँनुभयो । उपमहानगरपालिकामा ८६ नगरपालिकाको अनुदान र २ जना निजामती गरी ८८ जना कर्मचारी परिचालित भएको वताउनुभयो । योजना देखि राजश्व संकलन सम्म समस्या भएको वताउँदै छिट्टै कर्मचारी समायोजनको आबश्यकता भएको वताउँनुभयो । कर्मचारी अभाव हुदाँ विकास निर्माणका सबैकाम प्रभावित बनेको वताउनुभयो ।
वडा कार्यालय स्थापना भएन
लमही नगरपालिकामा वडा सचिव नहुदा वडा कार्यालय स्थापना गर्न नसकिएको नगरपालिकाले जनाएको छ । नगरपालिको वडा नं. २ ,३, ४, ६,र ९ न.को वडा कार्यालय संचालन गर्न नसेको नगरपालिकाका मेयर कुलबहादुर केसीले वताउनुभयो । वडा कार्यालयका सम्पूर्ण काम नगरपालिका बाट भैरहेको मेयर केसीले वताउनुभयो । ७१ जना नयाँ कर्मचारीको दरबन्दी श्रृजना गर्न नगरसभाबाट पारित गरेपनि कर्मचारी भर्ना गर्न नसक्दा समस्या भएको वताउनुभयो । कार्यालयमा कार्यरत कर्मचारी बिहान १० देखि राती ९ बजे सम्म कामकामै खटिएको वताउँदै त्यसले समेत काम धान्न मुस्किल परेको वताउनुभयो । त्यसकारण सरकारले सबै स्थानिय तहमा अविलम्ब कर्मचारी खटाउनु पर्ने बताउनुभयो ।
खेताला अमिन र ईन्जिनियर
जिल्लाका अधिकासं स्थानिय तहहरुले खेताला अमिन र ईन्जिनियर राखेर काम सुरु गरेका छन् । नागरिकलाई सेवा प्रदान गर्न परामर्श कर्ताका रुपमा ईन्जिनिएर र अमिन राखेर काम सुरु गरेको तुलसीपुर उपमहानगरपालिकाका कार्यकारी अधिकृत टोपेन्द्र केसीले जानकारी दिनुभयो । परामर्सकर्ताको तलव भत्ता आन्तरिक श्रोतबाट मिलाउँने गरी कर्मचारी राखेको उहाँले वताउनुभयो । माथिबाट कर्मचारी आउँदा समय लाग्ने र कर्मचारी नराख्दा सेवा प्रवाहमा समस्या हुने भएका कारण खेताला ईन्जिनिएर र अमिन राखेको वताउनुभयो ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।