नेपाल प्रहरीले माग्यो १२ अर्ब, सशस्त्र पनि खाका बनाउँदै



सरकारले वैशाख १७ र २७ गतेका लागि घोषणा गरेको प्रतिनिधिसभा निर्वाचनका लागि सबै सुरक्षा निकायले तयारी अघि बढाएका छन् । निर्वाचनका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीले तयारी तथा समन्वय समिति समेत गठन गरिसकेका छन् भने नेपाली सेनाले सरकारले दिएको जिम्मेवारी निर्वाह गर्न तयार रहेको बताएको छ । नेपाल प्रहरीले निर्वाचनका लागि १२ अर्ब रकम आवश्यक पर्ने भन्दै खर्च र निर्वाचन प्रयोजनका लागि आवश्यक सामग्रीको खाका सहितको विवरण गृह मन्त्रालयमा पठाइसकेको छ ।

सशस्त्र प्रहरीले निर्वाचनका लागि आवश्यक पर्ने रकमसहित सवारी तथा सञ्चार साधन र अन्य आवश्यक लजिस्टिक सामान समेत समेटेर खाका तयार गर्दैछ ‘नेपाल प्रहरीका तर्फबाट १२ अर्ब बराबरको खर्चको खाका आएको छ, सशस्त्रबाट आइसकेको छैन । सबै सुरक्षा निकायबाट आएपछि आवश्यक छलफल अघि बढ्छ,’ गृह स्रोतले भन्यो ।

नेपाल प्रहरीले भने २०७४ सालमा सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा भएको खर्चको आँकडाका आधारमा खर्चको अनुमानित विवरण गृह मन्त्रालयमा पठाएको हो । प्रहरीले म्यादी प्रहरी भर्ना गर्दा लाग्ने खर्चलाई समेत अनुमानित खर्च विवरणमा पेस गरेको छ । आगामी निर्वाचनका लागि १ लाखमा नबढ्ने गरी म्यादी प्रहरी भर्ना गर्ने नेपाल प्रहरीको तयारी छ ।

जसअनुसार १ लाख म्यादी प्रहरी भर्नाका लागि ५ अर्ब खर्च लाग्ने अनुमान छ । साधारण खर्चतर्फ ३ अर्ब र पुँजीगततर्फ ४ अर्ब खर्च लाग्ने गरी खर्च माग गरिएको प्रहरी स्रोत बताउँछ । साधारणतर्फको खर्च तलब तथा भत्ता लगायतमा खर्च हुनेछ भने पुँजीगततर्फ सवारीसाधन, सञ्चारसाधन लगायतमा खर्च हुनेछ ।

नेपाल प्रहरीले एआईजी विश्वराज पोखरेलको नेतृत्वमा निर्वाचन तयारी समिति बनाएको छ भने सशस्त्र प्रहरीले डीआईजी गणेश ठाडा मगरको नेतृत्वमा निर्वाचन तयारी समिति बनाएको छ । सशस्त्र प्रहरीका प्रवक्ता डीआईजी राजु अर्यालले केन्द्रदेखि प्रदेशसम्म नै निर्वाचनको तयारी अघि बढाउने गरी सशस्त्र प्रहरीले निर्वाचन तयारी समिति बनाएको जानकारी दिए । उनका अनुसार प्रदेश तहमा भने त्यहाँ नेतृत्वमा रहेका डीआईजीले नै निर्वाचन शेल गठन गर्नेछन् । नेपाली सेनाले भने गृह मन्त्रालयले बनाएको सुरक्षा समितिमा सेनाको समेत प्रतिनिधित्व रहेको र सरकारले दिएको जिम्मेवारी पालनामा प्रतिबद्ध रहेको जनाएको छ ।

सैनिक प्रवक्ता सन्तोषवल्लव पौडेलले सेना निर्वाचनका लागि आन्तरिक गृह कार्यमा लागेको र सरकारले दिएको जिम्मेवारीे पूरा गर्ने बताए । ‘गृह मन्त्रालयले बनाएको सुरक्षा समितिमा सेनाको प्रतिनिधित्व भइसकेको छ, सेना निर्वाचनको आन्तरिक तयारीमा छ । दायित्व के के आउँछ ? त्यहीअनुसार सेना तयार रहन्छ,’ सैनिक प्रवक्ता पौडेलले भने । राजधानी दैनिकमा खबर छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्