ओलीले शासन गर्ने वैधानिकता गुमाइसकेः गगन थापा



काठमाडौं। नेपाली कांग्रेसका नेता गगन थापाले नेपाल कम्युनिष्ट पार्टी नेकपाले शासन गर्ने वैधानिकता गुमाइसकेको बताएका छन्। बुधबार काठमाडौंमा आयोजित अन्तरक्रियामा थापाले नेकपाको शासन गर्ने वैधानिकता र वैधता सकिएको बताएका हुन्।

नेकपाले निर्वाचनबाट प्राप्त जनादेश पनि गुमाएको उनको भनाइ छ। जनादेश गुमाउँदा राजनीतिक निष्ठाको आधारमा जनतासँग क्षमा माग्नुपर्ने भएपनि नेकपाको दुवै पक्षले क्षमा नमागेको उनको तर्क छ। थापाले भोलि कुनै प्रधानमन्त्रीले शतप्रतिशत सांसद आफ्नै चाहियो भनेर संसद विघटन गरिदिए के गर्ने भन्ने प्रश्न गरेका छन्।

उनले असंवैधानिक कदम सच्चिनुपर्ने बताए। थापाले सर्वोच्च अदालतमाथि सबैले आशाको नजरले हेरेको भन्दै संविधानअनुरूप सही फैसला गर्ने विश्वास व्यक्त गरे। कार्यक्रममा कांग्रेसका नेता रमेश लेखकले संविधान र लोकतन्त्रमा कम विश्वास गर्नेले प्रतिनिधिसभा विघटन गरेको बताए। कम्युनिस्टको अधिनायकवादी र सर्वसत्तावादी चेतनाको कारण प्रतिनिधिसभा विघटन भएको उनको भनाइ छ।

नेता लेखकले कांग्रेस संसद पुनर्स्थापनाका निम्ति भूमिका निर्वाह गर्ने र सर्वोच्च अदालतले संसद पुनर्स्थापना नगरे निर्वाचनमा सहभागी हुने बताए। पुनर्स्थापना पनि नहुने र निर्वाचन पनि नहुने अवस्थामा कांग्रेस आन्दोलनमार्फत संविधानलाई ट्रयाकमा ल्याउन तयार रहेको उनको भनाइ छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्