केपी-बादल कम्पनीलाई आन्दोलनको आँधिहुरीले बढार्छौंः विप्लव नेकपा



घोराही । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी दाङले आज पनि तुलसीपुर र घोराहीमा सरकार विरुद्ध प्रदर्शन गरेको छ । नेकपा तुलसीपुर नगर समितिले बुधबार पनि पार्टीका केन्द्रीय सचिवालय सदस्य धर्मेन्द्र बास्तोला ‘कञ्चन’ लगायत नेता–कार्यकर्ताको गिरफ्तारी विरुद्ध प्रदर्शन गरेको छ ।

प्रदर्शनपछि आयोजित सभामा सम्बोधन गर्दै पार्टी तुलसीपुरका नगर इञ्चार्ज नवीनले देश र जनताको प्रिय पार्टीका नेता–कार्यकर्तालाई अनावश्यक दुःख दिने कार्य सरकारले नरोके ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिए ।

उनले जनयुद्धका मूल्य र मान्यतालाई बेचेर खाने, दलाली गर्ने, भ्रष्टाचारमा डुब्ने, जनताका विषयमा बोल्नेहरूलाई प्रतिबन्ध लगाउने केपी-बादल कम्पनीलाई ठूलो
आन्दोलनको हुरीले बढार्नुपर्ने बताए । उनले अबको आन्दोलन कोही व्यक्तिलाई प्रधानमन्त्री बनाउनका लागि नभएर यो दलाल पुँजीवादी व्यवस्थालाई हटाउन केन्द्रित हुने भएकाले सबै राजनीतिक दललाई एक भएर सङ्घर्षमा उत्रिन पनि आग्रह गरे ।

आन्दोलनको रक्षाका लागि नेपाल कम्युनिस्ट पार्टी कालकुट विष पिएर भए पनि लड्ने उनले बताए । इञ्चार्ज नवीनले पार्टीको केन्द्रीय कार्यक्रम अनुसार माघ १० गतेका लागि घोषित नेपाल बन्द सानदार ढङ्गले सफल बनाउन आम जनसमुदायलाई अपिल पनि गरे । यसअघि पनि नेकपाले दाङका विभिन्न स्थानमा सरकार विरुद्ध प्रदर्शन गर्दै आएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्