Banner Second

आन्दोलनको आँधीले उडाएजस्तै ओली एन्ड कम्पनीको पतन निश्चित : उपेन्द्र यादव

By Thaha - Online

January 21, 2021

जनकपुर। जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओली संसद विघटन गरेर संघीय लोकतान्त्रिक गणतन्त्रलाई समाप्त पर्ने षडयन्त्रमा लागेको अरोप लगाएका छन्। बुधबार सप्तरीको राजविराजमा आयोजित विरोधसभामा अध्यक्ष यादवले संविधान बनाउनेहरु नै संविधानको उल्लंघन गर्ने काममा लागेको बताए।

उनले विश्वकै सर्वोत्कृष्ट संविधान भन्ने केपी शर्मा ओलीले तीन वर्षमै संविधानको उल्लंघन गरेको बताए। ‘केपी ओली लगायतका कांग्रेसका नेताहरुले अन्तरिम संविधानमा दिइएको आधारको उल्लंघन गरेर नेपालको संविधान २०७२ जारी गरेका थिए। त्यतिबेला त्यसको विरोधमा मधेशी जनता बाहिर आए,’ उनले भने, ‘त्यसै संविधानलाई उत्कृष्ट संविधान भनियो तर आज त्यो संविधान तीन वर्ष पनि चलेन। उत्कृष्ट भन्नेबाटै उल्लंघन भयो।’

यादवले नेपालको संवैधानिक व्यवस्था लुडोको खेल जस्तै भएको दावी गरे। उनले भने, ‘यो संविधान त लुडो जस्तै भएको छ। विभिन्न संघर्षपछि अधिकार भेटियो त्यसलाई पनि खाएर पुनः तल नै झर्‍यो।’ यादवले प्रधानमन्त्री ओलीको पतनको दिन सुरु भएको पनि दाबी गरे। आन्दोलनको आँधीले ओली एन्ड कम्पनीलाई उडाएर किनारा लगाउने उनले बताए।

‘कोरोन महामारीबाट जनतालाई बचाउनु, बेरोजगारलाई रोजगारको अवसर सिर्जना गर्नु, मुलुकलाई आर्थिक संकटबाट उभो लगाउनु पर्ने बेलामा असंवैधानिक कदममार्फत संसद भंग गरेर चुनावको घोषणा गर्नु अलोकतान्त्रिक प्रवृतिको प्रदर्शन हो’, उनले भने। महामारीका कारण मुलुकको अर्थतन्त्रमा साढे ६ खरब नोक्सानी र करिब १३ लाख मासिन बेरोजगार हुँदा चुनावका लागि थप २० अरबको खर्च कहाँसम्म न्यायोचित कदम हो ? उनले प्रश्न गरे ।

संविधान उलंघन गरी लोकतन्त्रमाथि हमला गर्ने तत्कालिन राजा ज्ञानेन्द्रलाई आन्दोलनको आँधीले उडाएजस्तै ओली एन्ड कम्पनीको पतन निश्चित रहेको यादवले बताए। आफैंले उत्कृष्ट भनेको संविधान उल्लंघन गरी लोकतन्त्र, संघीय व्यवस्थामाथि हमला गर्ने हरकतलाई स्वीकार्न सकिन्न उनले भने, ‘अलोकतान्त्रिक, असंवैधानिक कदम नसच्चिएसम्म लडाइँ रोकिँदैन । लोकतन्त्र, संघीयता र संविधान रक्षाको आन्दोलनमा परिवर्तणकारी शक्तिलाई लोलबद्ध गरी आन्दोलन अझ शसक्त रुपमा अघि बढ्छ।’

यादवले अहिले नेपाली कांग्रे नेतृत्वको ढुलमुले हालत देखेर दया लागिरहेको बताए। उनले अहिलेको कांग्रेस नेतृत्वलाई विगतका नेतृत्वहरु विपीदेखि केपी(कृष्णप्रसाद)सम्मको भूमिकालाई स्पमरण गर्न सल्लाह दिए। लोकतन्त्र रक्षा आन्दोलनमा नेपाली कांग्रस भूमिका विहिन भएर असफलता प्रदर्शन गरेको उनको टिप्पणी छ। नेपाली कांग्रेस नेतृत्व ओलीसँग सेटिङका कारण ढुलमुले अवस्थामा रहेको पनि यादवले बताए।