रोजगारसम्बन्धी सम्झौतामा हस्ताक्षर भएसँगै इजरायलमा जान खुल्ला



८  माघ , काठमाडौं । बिहिबार नेपाल र इजरायलबीच रोजगारसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । गत असोजमा भएको ‘इजरायलको विशिष्ट श्रम बजारमा नेपाली कामदारको अस्थायी रोजगारीसम्बन्धी सम्झौता’ कार्यान्वयनका लागि बिहीबार दुई देशका अधिकारीबीच ‘इम्प्लिमेन्टेसन प्रोटोकल’ हस्ताक्षर भएको हो ।

उक्त सम्झौतामा हस्ताक्षर संगै इजरायलको विशिष्ट श्रम बजार नेपाली युवाका लागि खुला हुनेछ । प्रोटोकल अनुसार केयरगिभर, कृषि, होटल तथा रेष्टुरेन्ट, निर्माणलगायत क्षेत्रमा ५०० नेपाली युवा रोजगारीका लागि इजरायल जान पाउने भएका छन् ।

प्रोटोकलमा नेपाल सरकारका तर्फबाट वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहाल र इजरायल सरकारका तर्फबाट नेपालका लागि इजरायली राजदूत हनान गोदरले हस्ताक्षर गरेका छन् । नेपाली श्रमिकले इजरायली श्रम कानूनअनुसार सेवा सुविधा पाउनेछन् ।

इजरायली रोजगारमा निजी क्षेत्रलाई सहभागी गराइएको छैन । दुई देशबीचको सरकार–सरकार संयन्त्र  बाट नेपाली श्रमिकहरु लाई इजरायल लगिनेछ । यसअघि विभिन्न चरणमा छलफल भई सहमतिसमेत भइसकेकाले पहिलो क्षेत्रका रुपमा इजरायलको नर्सिङ क्षेत्र ,अस्पताल, नर्सिङ होम, दिवा स्याहार केन्द्रलगायत  मा नेपालीले रोजगारीको अवसर प्राप्त गर्नेछन् । आम्दानी, सामाजिक सुरक्षा तथा रोजगारीजन्य श्रमिक स्वास्थ्य सुरक्षाका दृष्टिले इजरायल विश्वकै उत्कृष्ट मुलुकमा पर्दछ ।

केही वर्षदेखि नेपाली कामदार लान बन्द गरेको इजरायलले पछिल्ला समय नेपाली श्रमिक लैजाने चाहना गरेको थियो । इजरायलले कृषि तथा केयर गिभरको क्षेत्रमा विदेशी कामदार लिँदै आएको छ । इजरायलमा केयर गिभरको सङ्ख्या बढी छ र नेपालीहरू पनि धेरै जसो केयर गिभरका रूपमै नै त्यहाँ जाने गरेको छन् ।

सरकारी माध्यमबाट नेपाली श्रमिक इजरायल पठाउँदा पारदर्शी हुनेगरी कार्यविधि तयार गरिएको श्रम मन्त्रालयले जनाएको छ । श्रम मन्त्रालयका अनुसार इजरायलमा दक्ष र सीपयुक्त श्रमिक सरकारले पठाउने भएकाले यसलाई सकेसम्म व्यवस्थित र पारदर्शी बनाउने गरी कार्यविधि बनाएको मन्त्रालयको दाबी छ ।

गत असोज १४ गते नेपाल र इजरायलबीच ‘इजरायलको विशिष्ट श्रम बजारमा नेपाली कामदारको अस्थायी रोजगारीसम्बन्धी सम्झौता’मा हस्ताक्षर भएको थियो । सम्झौतामा नेपालका तर्फबाट इजरायलका लागि नेपाली राजदूत डा.अञ्जान शाक्य र इजरालयका तर्फबाट त्यहाँका परराष्ट्रमन्त्री गावी अस्खेनाजीले हस्ताक्षर गरेका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्