अख्तियार आयुक्त पाठकलाई घुस दिने न्यौपाने ३५ लाख धरौटी तिर्न नसकेपछि जेल चलान



नेपाल इन्जिनियरिङ कलेज भक्तपुर चाँगुनारायणका पूर्वकार्यकारी अध्यक्ष लम्बोदरकुमार न्यौपाने कारागार चलान भएका छन् । न्यौपाने जिल्ला अदालत भक्तपुरमा ३५ लाख धरौटी बुझाउन नसकेपछि बिहीबार कारागार चलान भएका हुन् । अनुसन्धान ब्युरो प्रवक्ता गंगा पन्तले बिहीबार न्यौपाने अदालतको आदेशसँगै डिल्लीबजार कारागार चलान भएको जानकारी दिइन् ।

तत्कालीन अख्तियार दुरूपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकलाई ७० लाख रुपैयाँ घुस दिएको प्रकरणमा मुछिएका न्यौपानेलाई प्रहरीले ठगी मुद्दामा पक्राउ गरेको थियो । न्यौपाने रामेछाप मन्थली नगरपालिका-८ का हुन् । उनी काठमाडौं मनपा–४ चण्डोल बसोबास गर्दै आएका थिए ।

उनलाई गत मंसिर १० गते चण्डोलस्थित निवासबाटै केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको थियो । न्यौपानेविरूद्ध कात्तिक २४ गते ब्युरोले जिल्ला अदालत काठमाडौंमा ठगी मुद्दा दायर गरेको थियो । त्यसमा उनीसहित पाँच जनालाई प्रतिवादी बनाइएको थियो ।

उनीसहित पाँच जनाले इन्जिनियरिङ कलेजमा दुई कार्यकालसम्म काम गर्दा ८ करोड २१ लाख ५३ हजार ६५० रुपैयाँ ठगी गरेको मुद्दा थियो । न्यौपानेविरूद्ध बेरुजुसहितको बिगो २३ करोड १० लाख २३ हजार ४४३ रुपैयाँ माग गरिएको छ । भट्टराईको नाममा मात्र रहेको बिगो भने ३ करोड ७१ लाख ५३ हजार ६५० रुपैयाँ मागिएको थियो ।

उक्त मुद्दामा ललितपुर महानगरपालिका–९ का सूर्यबहादुर केसी, वडा नम्बर ४ जावलाखेलका रामरत्न उपाध्याय, काठमाडौं-४ विशालनगरका उपेन्द्र गौतम र बालुवाटारका लवराज भट्टराई प्रतिवादी थिए । भट्टराई पाठकलाई ७० लाख घुस दिएको बिगोमा पक्राउ परेका थिए । यो घुस प्रकरणपछि आयुक्त पाठकले राजीनामा दिएका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्