निर्वाचन आयोग राष्ट्रियसभा निर्वाचनको तयारीमा



सैघाली खबर
काठमाडौं,२७ पुस

माघ २४ गते हुने राष्ट्रियसभा निर्वाचनको कार्यतालिका अनुसार निर्वाचन आयोगले काम थालेको छ । निर्वाचन आयोगले हिजो सार्वजनिक गरेको तालिका अनुसार सबै प्रदेशका उच्च अदालत रहेका स्थानमा मतदान हुनेछ । मतदानको समय भने बिहान १० देखि ३ बजेसम्म तोकिएको छ।

निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले आजदेखि कार्यतालिकामा काम गर्ने जानकारी दिनुभयो । राष्ट्रियसभा सदस्य निर्वाचनमा २ हजार ५६ जनाले मतदान गर्न पाउनेछन् । मतदान सकिएकै दिन दिउँसो ४ बजेबाट मतगणना सुरु गरिने प्रवक्ता ढकालले जानकारी दिनुभयो ।

राष्ट्रिय सभामा प्रत्येक प्रदेशबाट कम्तीमा तीन महिला, एक दलित र एक अपांगता भएका व्यक्ति वा अल्पसंख्यक तथा अन्य तीन जनासहित ८ जना चुनिने संवैधानिक प्रावधान छ। त्यसबाहेक सरकारको सिफारिसमा राष्ट्रपतिबाट एक महिलासहित तीन जना राष्ट्रिय सभामा मनोनीत हुनेछन् । राष्ट्रिय सभा सदस्यको निर्वाचक मण्डलमा प्रदेशसभाका सदस्य तथा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, नगरपालिकाका प्रमुख र उपप्रमुख छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्