बगदादमा भएको दोहोरो आत्मघाती हमलाको जिम्मेवारी आइएसले लियो



इस्लामिक स्टेट (आइएस) ले इराकको राजधानी बगदादमा भएको दोहोरा बिस्फोटको जिम्मेवारी लिएको छ । बिहिबार भएको हमलामा ३२ जनाको मृतयु भएको छ र सयभन्दा बढी घाइते भएका छन् । आइएससँग जोडिएको समाचार एजेन्सी अमाककाम अनुसार यो हमलाको लक्ष्य शिया मुस्लिम थिए । आइएस सुन्नी मुसलमानको समूह हो । पछिल्लो तीन वर्षको अन्तरालमा यो बगदादमा भएको सबैभन्दा ठूलो हमला हो ।

यो हमलामा आत्मघाती हमलाकर्ताले तायरान स्क्वायरमा कपडा बजारमा आफैंलाई उडाइदिएका थिए ।

आइएसले यो हमलाको थुप्रै घण्टापछि मेसेजिङ एप टेलिग्राममा आफ्नो अकाउन्टमार्फत् यो हमलाको जिम्मेवारी लिएको हो ।

सन् २०१७ मा यो क्षेत्रमा सेनासँग हारेपछि आइएसको तर्फबाट निकै कम आत्मघाती हमला भएका छन् ।

कुनै बेला पूर्वी इराकबाट पश्चिमी सिरियासम्म करिब ८८ हजार वर्ग किलोमिटर क्षेत्रमा इस्लामिक स्टेटको नियन्त्रण थियो र उनीहरुले लगभग ८० लाख मानिसहरुमाथि आफ्नो क्रुर शासन चलाएका थिए ।

युद्धको मैदानमा आइएसको हारका बावजुद संयुक्त राष्ट्रको एक रिपोर्टले अगस्ट सन् २०२० मा १० हजारभन्दा बढी आइएस लडाकू आज पनि इराक र सिरियामा सक्रिय भएको अनुमान लगाएको थियो ।

यसको स्लिपर सेलले सानो स्तरको विद्रोह जारी राख्ने गर्छन् जुन मुख्य रुपमा ग्रामीण क्षेत्रमा चलिरहेका छन् र सुरक्षा बललाई टार्गेट गरिरहेका छन् ।

गृह मन्त्रालयले दिएको जानकारी अनुसार बिहिबार बिहान भएको यो हमलामा सुरुमा आत्मघाती हमलाकर्ता बजारमा प्रवेश गरेको र अचानक बिरामी भएको बहाना गरेर आफू वरिपरि भीड जम्मा गरेका थिए ।

एक पसलेले रोयटर्स समाचार एजेन्सीलाई भने, ‘हमलाकर्ताले आफ्नो हातले डेटोनेटर दबाए । तुरुन्त बिस्फोट भयो जसमा केही मानिसहरुको शरीर टुक्राटुक्रा भए ।’

मन्त्रालयका अनुसार पहिलो बिस्फोटपछि घाइतेको मद्दतका लागि जम्मा भएका मानिसहरुमा दोस्रो हमलाकर्ताले पुनः आफूलाई उडाए ।

प्रत्यक्षदर्शीका अनुसार तायरान स्क्वायरमा पछिल्लो लगभग एक वर्षदेखि कोरोनाभाइरसका कारण लागेको प्रतिबन्ध खुकुलो पारिएपछि व्यस्त थियो ।

बगदादमा यसअघि अन्तिम आत्मघाती हमला यसै स्क्वायरमा जनवरी सन् २०१८ मा भएको थियो । त्यतिेबला ३५ जना मारिएका थिए ।

इराकी राष्ट्रपति बरहाम सालेहले यो हमलाको निन्दा गर्दै भनेका छन्, ‘सरकार देशलाई अस्थिर गर्ने यो दुष्ट प्रयासविरुद्ध कडा कदम उठाउनेछ ।’

मार्चमा इराकको यात्राको योजना बनाइरहेका पोप फ्रान्सिसले एक सन्देश पठाउँदै यो ‘क्रुरता र मूर्खतापूर्ण हमलाको निन्दा गरेका छन् ।’

अमेरिका, युरोपेली संघ र संयुक्त राष्ट्र संघले पनि यो हमलाको निन्दा गरेका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्