समय अगाडी नै चुनाबमा जाँदा भ्रष्टाचार बढ्छः नेता पौडेल



काठमाडौं । दधिराज सुवेदी पुरस्कार प्रतिष्ठानले आज चार स्रष्टालाई सम्मान एवं पुरस्कृत गरेको छ । दधिराज सुवेदी पुरस्कार प्रतिष्ठान विराटनगरले प्रत्येक वर्ष प्रदान गर्ने रु ५१ हजार राशिको ‘दधिराज सुवेदी राष्ट्रिय भाषा साहित्य पुरस्कार-२०७७’ कवि एवं गीतकार एसपी कोइराला र २०७६ कवि विष्णुविभु घिमिरेलाई प्रदान गरिएको छ ।

रु २५ हजार राशिको ‘दधिराज सुवेदी राष्ट्रिय पत्रकारिता पुरस्कार– २०७७’ पुरस्कार वरिष्ठ पत्रकार हरिहर विरही र गत वर्षका लागि वरिष्ठ पत्रकार मोहन भण्डारीलाई प्रदान गरिएको छ । प्राज्ञ सुवेदीका छोराद्वय शरदराज र रुपकराजले राखेको रू १५ लाख अक्षय कोषका ब्याजबाट प्रत्येक वर्ष ती पुरस्कार प्रदान गर्ने गरेको समालोचकका पुत्र एवं पत्रकार शरदराजले जानकारी दिए ।

सो अवसरमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रतिभाहरुलाई पुरस्कार वितरण गर्दै प्रतिनिधिसभा पुनःस्थापना हुनुपर्ने बताए । पार्टीभित्रको झगडाले विघटन गर्नु न्यायसम्मत नभएको विचार व्यक्त गर्दै पाँच वर्ष चल्नुपर्ने सरकारलाई बीच बाटैमा तुहाएर निर्वाचनमा जाने प्रक्रियाले मुलुकमा भ्रष्टाचार र गरीबी बढ्ने तर्क गरे ।

न्यायालयले जनताका आवाज सुन्नुपर्ने धारणा राख्दै उनले राजनीतिक दलका नेतालाई स्वार्थभन्दा माथि उठेर देश विकासमा लाग्नुपर्ने सुझाव दिए । सो अवसरमा कांग्रेसका केन्द्रीय सदस्य डा. मीनेन्द्र रिजालले संविधान र लोकतन्त्र रक्षाका लागि प्रतिनिधिसभा विघटनविरुच संघर्ष गर्नुपर्ने विचार व्यक्त गरे । कांग्रेसका केन्द्रीय सदस्यद्वय गुरुराज घिमिरे र डा. डिला सङ्ग्रौलाले राजनीति विधि र पद्धतिअनुसार चल्नुपर्ने बताए ।

विभाजित नेकपाका केन्द्रीय सदस्य महेश रेग्मीले जनतालाई गरीबीतर्फ धकेल्ने वर्तमान राजनीतिक परिस्थितिले गर्दा राजनीतिक दल र जनता सडकमा आउनुपरेको विचार राखे । विराटनगर महानगरपालिकाका प्रमुख भीमप्रसाद पराजुलीले साहित्य र स्रष्टा देशका गहना भएकाले यसको सम्मान गर्नुपर्नेमा जोड दिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्