आइतबारसम्म सबै प्रदेशमा कोभिड विरुद्धको खोप ‘कोभिशिल्ड पुग्ने



काठमाडौं। कोभिड-१९ विरुद्धको खोप ‘कोभिशिल्ड’ सातवटै प्रदेशमा पठाउन थालिएको छ। भारतले अनुदानमा उपलब्ध गराएको खोप सातवटै प्रदेशमा पठाउन थालिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिए।

भारतबाट ल्याएपछि खोप स्वास्थ्य सेवा विभागको टेकुस्थित केन्द्रीय चिस्यान केन्द्रमा राखिएको छ। उनका अनुसार प्रदेशबाट नै जिल्ला अस्पतालमा खोप आवश्यकताका आधारका वितरण गरिएको छ र आइतबारसम्म सबै प्रदेशमा खोप पुग्ने छ।

पहिलो चरणको खोप अस्पताललाई नै खोप केन्द्र बनाएर लगाइनेछ। सात प्रदेश र ७७ जिल्लामा गरी करीब ३०० अस्पतालबाट खोप लगाइनेछ। काठमाडौं उपत्यकामा भने १० भन्दाबढी अस्पतालमा खोप वितरण गरिनेछ।

खोप स्वास्स्थ्य संस्थामा कार्यरत कोभिड-१९ व्यवस्थापनमा अग्रपङ्क्तिमा खटिने स्वास्थ्यकर्मी, सहयोगी कर्मचारी, एम्बुलेन्स तथा शववाहन चालक, कोभिड-१९ को सङ्क्रमणबाट मृत्यु भएका शवको व्यवस्थापनमा खटिने सुरक्षाकर्र्मी, स्थानीय तहमा कार्यरत फोहोर व्यवस्थापन तथा सरसफाइकर्मीलाई दिइनेछ।

पहिलो खोप लगाएको एक महिना वा चार हप्तापछि दोस्रो मात्रा दिइने मन्त्रालयका प्रवक्ता डा गौतमले बताए। खोप लगाउन शुरु गरेको एक हप्ताभित्र सबै खोप लगाइसक्ने मन्त्रालयको तयारी छ

भारत सरकारले माघ ८ गते अनुदानमा नेपाललाई १० लाख मात्रा खोप अनुदानमा उपलब्ध गराएको छ। माइनस दुई डिग्री सेल्सियसदेखि माइनस आठ डिग्री सेल्सियसमा राख्न सकिने कोभिशिल्ड खोप भारतमा ७० प्रतिशत प्रभावकारी देखिएको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्