हरेक नेपालीको टाउकोमा ४६ हजार ७ सय रुपैयाँ ऋण



काठमाडौं। संघीय सरकारको कुल तिर्न बाँकी ऋण १४ खर्ब पुगेको छ। अर्थमन्त्रालयले सार्वजनिक गरेको मंसिर महिनाको आर्थिक बुलेटिन अनुसार मंसिर मसान्तसम्ममा सरकारको आन्तरिक र बाह्य गरी कुल १४ खर्ब ९६ करोड ५६ लाख ऋण पुगेको हो। तीन करोड नेपालीलाई भाग लाउँदा हरेक नेपालीको टाउकोमा ४६ हजार ७ सय रुपैयाँ ऋण पुगेको छ। यद्यपि यो ऋण नेपाली जनताले प्रत्यक्ष तिर्नुपर्दैन।

यस अवधिमा सरकारको आन्तरिक ६ खर्ब ७० अर्ब १४ करोड तथा बाह्य ऋण ८ खर्ब २० अर्ब ८२ करोड रहेको छ। आन्तरिकतर्फ १२ अर्ब २३ करोड ब्याज भुक्तानी भएको छ भने बाह्य ऋणतर्फ साँवा २९ अर्ब ५६ करोड तथा ब्याज २ अर्ब ६२ करोड गरी ३२ अर्ब ५६ करोड रकम भुक्तानी भइसकेको अर्थमन्त्रालयले जनाएको छ।

यस्तै यसै अवधिमा कुल २७ अर्ब २४ करोड बराबरको वैदेशिक सहायता प्राप्त भएको अर्थ मन्त्रालयले जनाएको छ। चालु आर्थिक वर्षकै मंसिर मसान्तसम्ममा ६ अर्ब ३२ करोड ३५ लाख वैदेशिक अनुदान भित्रिएको छ। यसै वर्षको मंसिर मसान्तसम्ममा २० अर्ब ९१ करोड ८६ लाख वैदेशिक ऋण भित्रिएको मन्त्रालयले जनाएको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्