खानेपानी आयोजनाको सुन्दरीजल खण्डको सुरुङमार्ग र पानी प्रशोधन केन्द्रको निरीक्षण



काठमाडौँ। खानेपानी मन्त्री मणिचन्द्र थापाले मेलम्ची खानेपानी आयोजनाको सुन्दरीजल खण्डको सुरुङमार्ग र पानी प्रशोधन केन्द्रको निरीक्षण गरेका छन्।

निरीक्षणका क्रममा मन्त्री थापा सुन्दरीजलदेखि ९ किलोमिटर भित्र सुरुङ र आउटलेट रहेको सिन्धुसम्म पुगेका थिए। त्यसक्रममा मन्त्री थापाले मेलम्ची आयोजनामा अहिलेसम्म भएको कामको विवरण र पानी काठमाडौँ ल्याउन गर्नुपर्ने थप कामबारे जानकारी लिएका थिए।

मन्त्री थापाले मेलम्चीको पानी खाने राजधानीबासीको धोको पूरा गर्नु आफ्नो लक्ष्य रहेको बाँकी कामहरु चाँडै सक्न निर्देशन दिएका थिए। मन्त्री थापालाई ब्रिफ्रिङ गर्दै मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक तिरेश प्रसाद खत्रीले सुरुङको अधिकांश काम सम्पन्न भइसकेको बताए।

उनले निकासका लागि राखिएका सुरुङको ढोका मर्मत लगायत महत्वपूर्ण सबै काम सकिएको बताए। ‘करिब सबै काम सकिएको छ, सुरुङ्ग परीक्षण गर्दा यसअघिको जस्तो दुर्घटना हुन नदिन विदेशबाट ल्याएर विज्ञ समूहबाट सुरुङ्गको निरीक्षण पनि गराएका छौँ, कार्यकारी निर्देशक खत्रीले भने, ‘सुरुङको दिगोपनाका लागि केही सुधारका कामहरु शुरु गरेका छौँ, २४ सै घण्टा गरेर बढीमा चार हप्तामा त्यो काम पनि सम्पन्न गछौँ।’

खत्रीले बढीमा चार हप्तामा सुरुङमा पानी पठाएर परीक्षणको काम शुरु गर्न सकिने बताएका छन्। यस्तै सुरुङको निरीक्षण लगत्तै मन्त्री थापाले मेलम्चीको पानी खसाल्ने प्रशोधन केन्द्र र संकलन केन्द्रको पनि निरिक्षण गरेका थिए। सुन्दरीजलमा दैनिक १७ करोड लिटर पानी प्रशोधन गर्ने क्षमताको दुई वटा प्रशोधन केन्द्र रहेका छन्। प्रशोधन केन्द्र दुवैको क्षमता प्रतिदिन ८.५ करोड लिटर रहेको छ।

पूर्वमन्त्री बिना मगरको कार्यकालमै सुरुङमा पानी परीक्षणको काम सुरु गरिए पनि अप्रत्याशित रुपमा भएको दुर्घटनाका कारण काममा ढिलाइ भएको थियो। गत पुस ५ गते प्रधानमन्त्रीको संसद बिघटनको कदमको विरोध गर्दै मगरले मन्त्री पदबाट राजीनामा दिएसँगै मेलम्चीको काममा अन्यौलता सिर्जना भएको थियो।

खानेपानी मन्त्रालयको सबैभन्दा उच्च प्राथमिकतामा रहेको मेलम्ची आयोजनाको थापाले मन्त्री भएको करीब डेढ महिनापछि मात्र निरीक्षण गरेका हुन्। यसअघिका मन्त्रीहरुले मेलम्चीको पाक्षिक अनुगमन र दैनिक रिपोर्ट लिँदै आएका थिए।

बिना मगरको कार्यकालमा मात्रै मेलम्चीको काममा ३६ प्रतिशतभन्दा बढी प्रगति देखिएको थियो। तर, मन्त्री फेरिएसँगै आयोजनाको काम बिलम्व भएको हो। आयोजनाको काम बिलम्व भएको गुनासोपछि मन्त्री थापाले आइतबार आयोजनाको निरीक्षण गरेका हुन्।

आयोजनाको निरीक्षणका क्रममा कर्मचारीहरुले आयोजनाको सुरुङ परीक्षणका लागिसमेत कम्तिमा एक महिना कुर्नुपर्ने रिपोर्ट गरेका छन्। सुरुङमा पानी भर्न कम्तिमा दुई हप्ता लाग्ने, पानी भरेपछि परीक्षणका लागि एक हप्तादेखि १० दिन लाग्ने र सुरुङबाट पानी खाली गर्न कम्तिमा २ हप्ता लाग्ने भएकाले मेलम्चीको काम लम्बिएको हो।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्