बाग्लुङको तमानखोला गाउपालीकाले मगर र छन्त्याल भाषालाई संरक्षण गर्न स्थानीय पाठ्यक्रम बनाउदै



जिल्लाको तमानखोला गाउँपालिकाले स्थानीय पाठ्यक्रम निर्माणलाई तीब्रता दिएको छ ।

गाउँपालिका अध्यक्ष जोकलाल बुढा मगरले स्थानीय पाठ्यक्रम निर्माणको कार्य करिब ७० प्रतिशत सकिएको बताउनु भयो ।

पालिकाले ‘मेरो गाउँपालिका’ नामको पाठ्यक्रम निर्माणलाई तीब्र पारेको हो ।

अर्को शैक्षिक सत्रदेखि पढाई सुरु गर्ने गरि पाठ्यक्रम तयारीलाई तीब्रता दिईएको अध्यक्ष बुढा मगरले बताउनु भयो ।

पाठ्यक्रममा पालिका भित्र लोप भईसकेका मगर र छन्त्याल भाषाका शब्दहरु पनि समावेश गरिने छ ।

मगर र छन्त्याल भाषा पूर्ण रुपमा लोप भईसके पनि यदाकदा प्रयोग हुने ति शब्दहरुलाई पाठ्यक्रममा समावेश गरिने अध्यक्ष बुढामगरले बताउनु भयो ।

‘अहिले नै पूर्ण रुपमा मगर र छन्त्याल भाषा पाठ्यक्रममा समावेश गर्दा असफल भईन सक्छ’–अध्यक्ष बुढा मगरले भन्नु भयो–‘मगर र छन्त्याल भाषामा अध्ययन सञ्चालन गर्ने वातावरण बनाउनकै लागि यस्तो गरिएको हो ।’

पालिकामा मगर र छन्त्याल ३७ प्रतिशत रहेका छन् ।

त्यहाँ बोलिने मगर र छन्त्याल भाषा नेपाल एकिकरण हुँदादेखिनै बोल्न छाडिएको भनाई छ ।

आफ्नो भाषा बोलेकै कारण त्यहाँका मगर र छन्त्याललाई राज्यले दुःख दिन थालेपछि त्यहाँका नागरिकहरु भाषा परिवर्तन गर्न बाध्य भएको स्थानीय जेष्ठ नागरिकहरुको भनाई छ ।

पाठ्यक्रममा पालिका भित्र रहेका कृषि, पशुपालन, स्थानीय उत्पादन, प्राकृति सांस्कृतिक वस्तु, लघु उद्यम, ऐतिहासिक मठ मन्दिर समेत समावेश गरिने शिक्षा शाखा प्रमुख पूर्णबहादुर घर्तीले जानकारी दिनु भयो ।

त्यसका साथै समाजमा महत्वपूर्ण भूमिका खेल्ने व्यक्तिहरुको जीवनी समावेश गरिने छ । पुस्तक ऐच्छिक र अनिवार्य गरि दुई खण्डमा हुने शिक्षा शाखा प्रमुख घर्तिले जानकारी दिनु भयो ।

नयाँ पुस्ताले पूराना पुस्तामा रहेका ज्ञान/सिप सिकुन भन्ने उद्धेश्यले परम्परागत ज्ञान र सिपलाई समेत पाठ्यक्रममा समावेश गरिनेछ ।

यो पाठ्यक्रम सुरुमा कक्षा १ देखि ५ सम्मलाई समावेश गरिनेछ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्