भैरहवा। नेकपा स्थायी समिति सदस्य घनश्याम भुसालले निर्वाचन आयोगले कुनै पनि निर्णय नगर्ने निर्णय गरेको प्रतिक्रिया दिएका छन्। सोमबार भैरहवामा पत्रकारसँग भेटघाटका क्रममा भुसालले आयोगले यस्तो विवादमा निर्णय सुनाएर आफ्नो औचित्य साबित गर्नुपर्नेमा चुकेको बताए।
‘कानुनअनुसार आधार पुगेपछि त्यसलाई सही ठहर्याउनु पर्ने हो,’ उनले भने, ‘आयोगले निर्णय नगरेर आफ्नै औचित्य पुष्टि गर्न बाँकी राख्यो ।’ उनले आयोगले नेकपाको केन्द्रीय समिति ४ सय ४१ सदस्यीय रहेको पुष्टि गरेको दाबी गरे। ‘तर, त्यसको आधारमा बहुमत केन्द्रीय सदस्यले गरेको निर्णय मान्य भएन,’ भुसालले भने, ‘अब यो हाम्रोभन्दा आयोगको समस्या हो।’
बहुमत केन्द्रीय सदस्य भएको प्रचण्ड-नेपाल पक्षको नेकपा नै आधिकारिक भएको उनले दाबी गरे। आफूहरुले आयोगलाई किन निर्णय गरेनौं भनेर प्रश्न गर्ने उनले बताए। नेता भुसालले पार्टीमा एक तिहाइ भोट नभएको प्रधानमन्त्रीले निर्वाचनमा दुई तिहाइ भोट ल्याउँछु भन्नु हाँस्यास्पद भएको पनि बताए।
उनले प्रधानमन्त्री ओलीले गरिरहेको नाटक र नौटंकीबाटै चुनाव हुँदैन भन्ने निश्चित भएको दाबी गरे। ‘संविधान च्यातेर, लोकतन्त्र घाइते र असफल पारेर निर्वाचन हुनै सक्दैन,’ भुसालले भने।
उनले अहिले सर्वोच्च अदालतमा भइरहेको बहस, संविधान निर्माण गर्दाका तथ्यप्रमाणले पनि संसद जीवितै छ भन्ने पुष्टि भएको बताउँदै ढिलोमा तीन महिनाभित्रै संसद बैठक बस्ने दाबी गरे। नेता भुसालले संविधाको मर्म र भावनामाथि प्रहार गरेर लोकतन्त्र बलियो नहुने बताए।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।