अन्तर्राष्ट्रिय

प्रबन्धक फ्रान्क लाम्पार्ड बर्खास्त

By Thaha - Online

January 25, 2021

काठमाडौं। इङ्लिस फुटबल ब्लब चेल्सीले आफ्ना प्रबन्धक फ्रान्क लाम्पार्डलाई बर्खास्त गरेको छ। यो सिजन खराब लयबाट गुज्रिरहेको चेल्सीले प्रशिक्षक लाम्पार्डलाई सोमबार बर्खास्त गरेको हो। एफए कपको चौथो राउण्डमा चेल्सीले लुटनलाई ३-१ गोल अन्तरले पराजित गरे लगत्तै क्लब मालिक रोमन इब्राहिमोबिचले लाम्पार्ड बर्खास्त गर्ने निर्णय गरेका हुन्।

लेम्पार्ड जुलाई २०१९ मा चेल्सीको प्रबन्धकमा नियुक्त भएका थिए। चेल्सीकै पूर्व मिडफिल्डर उनले १८ महिनाअघि म्यारिजियो सारिलाई प्रतिस्थापन गरेका थिए। उनले २०० मिलियन पाउण्डभन्दा बडी रकम खर्च गरेर टिमो वर्नर र काइ हार्बटेजसहित खेलाडीलाई गत सिजनमा भित्र्याएपछि प्रभावशाली नतिजा दिन सकेनन्। महँगो मूल्यमा खेलाडी ल्याएपनि चेल्सी १९ खेलबाट २९ अंकसहित प्रिमियर लिगको नवौँ स्थानमा खुम्चिएको छ।

लाम्पार्ड बर्खास्तीमा परेपछि चेल्सीले उनको स्थानमा बोरुसिया डर्टमन्ड र पेरिस सेन्ट जर्मेनका पूर्व प्रशिक्षक थोमस टचेललाई प्रशिक्षकमा नियुक्त गर्ने भएको छ। पछिल्लो समय चेल्सीले आफ्ना ८ खेलमध्ये ५ मा हार व्यहोरेको थियो। ४२ वर्षीय लाम्पार्डको नेतृत्वमा चेल्सीले गत सिजन प्रिमियर लिग चौथो स्थानमा रहँदै टुंग्याएको थियो। पछिल्लो पटक प्रिमियर लिग भिडन्तमा लेस्टर सिटीसँग २-० ले पराजित भएसँगै लाम्पार्डको जागिर धरापमा परेको थियो। चेल्सीले यो सिजन शीर्ष ११ क्लबमध्ये वेस्ट ह्यामलाई मात्रै पराजित गर्न सकेको थियो।