कारबाही परेका मेनपावर कम्पनीलाई मन्त्री चौधरीले फुकुवा गरिदिए



काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गौरीशंकर चौधरीले अचम्मको निर्णय गरेका छन् । ‘म्यानपावर कम्पनीलाई पारदर्शीरुपमा काम गर्न भनिने छ । मापदण्ड विपरीत भइरहेका ठगी लगायतका काम रोक्न प्रयास हुन्छ ।’ तर, मन्त्री चौधरीले ठगी रोकेर हैन, अवैध काम गर्ने र ठगीमा संलग्न म्यानपावर कम्पनीलाई चाहिँ यसअघि गरिएको कारवाही फुकुवा गरेर आफ्नो काम थालेका छन् ।

मन्त्री चौधरीकै निर्णयमा कतारको प्रहरी सेवामा पठाउने भन्दै अवैध रूपमा अन्तर्वार्ता लिने तीनमध्ये एउटा म्यानपावर कम्पनीमाथिको कारवाही फुकुवा भएको छ । एसओएस म्यानपावर सर्भिस कम्पनीलाई ६ महिना विदेशमा श्रमिक पठाउन नसक्ने गरी वैदेशिक रोजगार विभागबाट भएको निर्णय मन्त्री चौधरीले सोझै उल्टाइदिएका छन् ।

मंसिर ८ गते विभागले आधा वर्षका लागि गरेको इजाजतपत्र निलम्वनको निर्णय मन्त्री चौधरीले प्रतिवन्ध सकिने ४ महिनाअघि नै खुलाइदिएका हुन् । चौधरी नेकपाको माधव(प्रचण्ड समूहबाट ओली समूहमा प्रवेश गरेर मन्त्री भएका थिए । मन्त्री चौधरीले गत माघ ८ गते मन्त्रिस्तरीय निर्णयबाट कतार प्रहरीमा अवैधरुपमा नेपाली श्रमिक कतार लैजान लागेको ठहर भएपछि कारवाहीमा परेको एसओएसमाथि गरिएको कारवाही गैरकानूनी र प्राकृतिक न्यायको सिद्धान्त विपरीत भएको भन्दै उल्ट्याइदिएको खुलेको छ ।

एसओएसले विभागको निर्णयविरुद्ध मन्त्रालयमा पुनरावेदन गरेको थियो । त्यसकै आडमा मन्त्री चौधरीले आर्थिक चलखेल गरेर एसओएसको निलम्वन फुकाएको श्रम मन्त्रालय स्रोतको दावी छ । विभागले अवैध अन्तरवार्ता चलाएको र श्रमिकसँग लाखौं रकम उठाएको भन्दै एसओएससहित डीडी ह्युमन रिसोर्स र होप इन्टरनेसनल म्यानपावरलाई ६-६ महिनाका लागि निलम्बन गरेको थियो । नियमअनुसार निलम्बन फुकुवा नभएसम्म उनीहरुले वैदेशिक रोजगारीमा श्रमिक पठाउन पाउँदैन थिए ।

तर, मन्त्री चौधरीले विभिन्न तर्कहरु अघि सार्दै एसओएसविरुद्धको कारवाही मात्रै फुकुवा गरेका हुन् । मंसिर ८ र ९ गते होप इन्टरनेसनल ओभरसिज, डीडी ह्युमन रिसोर्स र एसओएस म्यानपावर कम्पनीले कतार पठाउने नाममा श्रम स्वीकृति नलिई कामदारसँग अन्तर्वार्ता लिइरहेको भेटिएको थियो । कतार सरकारकै सक्रियतामा अवैध प्रक्रियाबाट ‘सुरक्षा मजदुर’ लैजान प्रयास भएको विभागको प्रतिवेदनले औंल्याएको थियो । कतारमा सुरक्षाकर्मी लैजान नेपाल सरकारले तोकेको प्रक्रिया छल्न खोजिएको प्रतिवेदनको निष्कर्ष छ ।

कतारस्थित नेपाली दूतावासले नयाँ श्रमिकको मागपत्र प्रमाणीकरण सुरु नगर्दै यहाँ अन्तर्वार्ता लिएको पाइएको थियो । विभागले छापा मार्दा कतारी दूतावासको ४५(सीडी(००९ नम्बरको गाडी होप इन्टरनेसनल परिसरमै भेटिएको थियो । त्यहाँ चारजना कतारी नागरिक पनि भेटिएका थिए ।

उनीहरु कतारको आन्तरिक मामिला मन्त्रालय (मिनिस्ट्री अफ इन्टेरियर) का अधिकारी भएको र अन्तर्वार्ता लिन काठमाडौं आएको तथ्य त्यतिबेलै बाहिरिएको थियो । तीनवटै म्यानपावरले कतारमा सुरक्षाकर्मी लैजान नेपाल सरकारले तोकेको प्रक्रिया छल्न खोजिएको विभागको प्रतिवेदनको पनि निष्कर्ष थियो । त्यसकै आधारमा विभागले वैदेशिक रोजगार ऐनको दफा ६१को उपदफा ६ र ७ को प्रयोग गरेर कारवाही गरेको थियो । अनलाइनखबरले विस्तृतमा समाचार लेखेको छ ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्