प्रधानमन्त्री ओलीले प्रदेशसभा विघटन गर्न सक्ने सम्भावना पनि उत्तिकै



काठमाडौं। प्रतिनिधिसभा विघटन गरेका प्रधानमन्त्री केपी ओलीले प्रदेशसभा विघटन गर्न सक्ने सम्भावना पनि उत्तिकै देखिएको छ। प्रतिनिधिसभा विघटन गरेपछि सडकमा उत्रिएका दल र नागरिक समाजलाई चुनौती दिँदै प्रधानमन्त्री ओलीले एक टेलिभिजन कार्यक्रममा बोल्दै प्रदेशसभा पनि विघटन हुनसक्ने चेतावनी दिएका छन्। प्रधानमन्त्री ओलीले प्रदेश सरकारलाई अप्ठेरो पार्ने गरी कुनै कदम चालिए आफूले प्रदेशसभा पनि विघटन गर्न सक्ने संकेत गरेका हुन्।

प्रधानमन्त्रीले ओलीले मात्र होइन, अन्य दुई मन्त्रीले पनि प्रदेशसभा विघटन गर्न सकिने बताएका छन्। प्रधानमन्त्री ओलीले नै भूमिसुधारमन्त्री शिवमाया तुम्वाहाङ्फे र उद्योगमन्त्री लेखराज भट्टलाई प्रदेशसभा पनि विघटन हुनसक्छ भन्न लगाएका थिए। संविधानमा प्रदेशसभाले सरकार दिन नसक्ने परिस्थिति सिर्जना भएमा, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रियता वा स्वाधीनतामा गम्भीर असर पर्ने कार्य भएमा मात्र प्रदेशसभा विघटन हुनसक्ने व्यवस्था छ। तर सरकार बन्न सक्ने विकल्प रहेको अवस्था र राष्ट्रियतामा असर पर्ने कार्य नभएमा प्रदेशसभा विघटन हुन नसक्ने संविधानविद्को भनाइ छ। संविधानको धारा १६८ र २३२ मा प्रदेशसभा विघटनसम्बन्धी व्यवस्था छ।

‘धारा १६८ बमोजिम प्रदेशसभा विघटन गर्दा विकल्प दिने सरकार हुनुपर्छ भने धारा २३२ अन्तर्गत विघटन गर्दा राष्ट्रमाथि खलल पर्ने अवस्था देखिएको हुनुपर्छ,’ संविधानविद् डा। विपीन अधिकारीले भने । ‘धारा २३२ मा टेकेर विघटन भएमा संघीय संसद् नभएकाले त्यो कार्यान्व्यन गर्न सकिँदैन, त्यसपछि संवैधानिक संकट उत्पन्न हुनेछ। संविधान र कानुन कुल्चिँदै गएमा जटिल अवस्था आइपर्छ।’ धारा १६८ को उपधारा १ मा बहुमत सरकार। उपधारा २ मा संयुक्त सरकार, उपधारा ३ मा अल्पमतको सरकार, उपधारा ५ मा बहुमत देखाएर प्रदेशसभाको कुनै सदस्यको नेतृत्वमा सरकार गठन हुने व्यवस्था छ। यसरी चार चरणसम्म जाँदा पनि सरकार बन्न सकेन भने मात्र प्रदेशसभा विघटन हुनसक्ने व्यवस्था संविधानले गरेको संविधानविद्को भनाइ छ।

संविधानको धारा २३२ को उपधारामा लेखिएको छ, ‘कुनै प्रदेशमा नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रियता वा स्वाधीनतामा गम्भीर असर पर्ने किसिमको कार्य भएमा राष्ट्रपतिले त्यस्तो प्रदेश मन्त्रिपरिषद्लाई आवश्यकता अनुसार सचेत गराउन, प्रदेश मन्त्रिपरिषद् र प्रदेशसभालाई बढीमा ६ महिनासम्म निलम्बन गर्न वा विघटन गर्न सक्ने छन्।’

तर यसरी विघटन गरिएको कार्यलाई ३५ दिनभित्र संघीय संसद्को तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको बहुमतबाट अनुमोदन गराउनुपर्छ भन्ने व्यवस्था धारा २३२ को उपधारा ४ मा छ। संघीय संसद्बाट अनुमोदन भएपछि मात्र ६ महिनाभित्र प्रदेशसभाको निर्वाचन गराउनुपर्नेछ भन्ने उपधारा ५ मा व्यवस्था गर्दै प्रतिबन्धात्मक वाक्यमा लेखिएको छ, ‘संघीय संसद्बाट अनुमोदन नभएमा त्यस्तो निलम्बन वा विघटनसम्बन्धी कार्य स्वतः निष्क्रिय हुनेछ।’ नागरिक दैनिकमा समाचार छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्