काठमाडौं । काठमाडौंबाट प्रकाशन भइरहेको थाहा अनलाइन डटकममा कार्यरत पत्रकार कमलविक्रम जि.सीमाथी नेकपा ओली समूहका कार्यकर्ताले आक्रमण गरि घाइते बनाएका छन् ।
नेकपा-दाहाल नेपाल निकट विद्यार्थी संगठनका नेता रञ्जित तामाङको अन्तरवार्ता लिएको भन्दै जि.सीमाथी आज रत्नराज्य क्याम्पस परिसरमा उनीमाथी कुटपीट गरिएको हो । कुटपीटबाट जिसीको मुहारमा गम्भीर चोट लागेको छ । यसैबीच जिसी कार्यरत थाहा अनलाईन डटकमले उनीमाथी भएको आक्रमणको घोर भ्रत्सर्ना गरेको छ ।
सो मिडियाले दोषीमाथीको कारबाहीको माग गर्दै पत्रकारले निर्भिक भएर काम गर्न पाउने वातावरण तयार गर्न नेपाल पत्रकार महासंघ लगायतका संस्थाहरुसित माग गरेको छ । सो मिडियाका सञ्चालक यादवप्रसाद सुनारद्धारा जारी विज्ञप्तिमा यस्तो माग गरिएको हो ।
सुनारद्धारा जारी विज्ञप्तिमा बोल्न र आफ्नो अभिव्यक्ति व्यक्त गर्न पाइने लोकतान्त्रिक व्यवस्थामा पनि मिडियाको तर्फबाट विद्यार्थी नेताको अन्तरवार्ता लिएकै आधारमा अन्तरवार्ता लिने पत्रकारमाथी कुटपीट गरिनुलाई जनताको बोल्न पाउने अधिकार खोस्न खोजिएको रुपमा लिएको जनाइएको छ ।
विज्ञप्तिमा ओली समूह निकट विद्यार्थी समूहले जि.सीमाथी त्यसरी आक्रमण गर्नुले उनीहरु कस्तो व्यवस्था चाहन्छन् भन्ने स्पष्ट भएको जनाइएको छ । यसैबिच नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य जन्मदेव जैशीको नेतृत्वमा गएको पत्रकारहरुको एक टोलीले पीडित पत्रकार जिसीलाई भेटेर उनको अवस्था बारे जानकारी लिएको छ ।
भेटपछि जैशीले कुनै नेताको अन्तरवार्ता लिएकै आधारमा यसरी पत्रकारमाथी कुटपीट गरिएको घटनाले आफू मर्माहत भएको भन्दै सो घटना बारे महासंघमा जानकारी गराउने र पत्रकारमाथी आक्रमण हुने अवस्था सिर्जना नहुने वातावरण बनाउन पहल गर्ने बताए ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।