१३ माघ – जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमले जिल्लाको बिभिन्न स्थानबाट अवैध कारोबारमा संलग्न रहेको २ वटा चार पांङग्रे गाडी सहित ४४ लाख ६५ हजार ५ सय ८४ मुल्य बराबरको अवैध मालसामान बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका अनुसार मंगलबार बर्दघाट नगरपालिका वडा नम्बर ४ बाढीपिडितको भित्री सडक खण्डमा पार्किङ गरी राखेको लु.अ.अ.मा. ९२३१ नम्बरको अनटेस्ट कारलाई चेक जांच गर्दा उक्त गाडी भित्र भारतबाट भन्सार छलि अवैध रुपमा ल्याएको मारोटी , डेटाइम रनिंग ल्याम्प , ग्रिप ब्लाक स्टेरिंग स्विफट , हुइल र्आच वाइ वन के लगायतका मोटर पार्टस फेला पारी गाडी सहित ईलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको थियोे । उक्त मोटर पार्टस सामानको मुल्य करीब ८४ हजार ६ सय ५० र अनटेस्ट गाडीको अन्दाजी मुल्य ३० लाख गरी कुल ३० लाख ८४ हजार ६ सय ५० मुल्य बराबर रहेको प्रहरीले बताएको छ । बरामद सामान र गाडी मंगलबार नै आवश्यक कार्यवाहीको लागि महेशपुर भन्सार कार्यालय पठाएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका सुचना अधिकारी राजु लामाले जानकारी दिए ।
यसैगरी सिमा प्रहरी चौकी महेशपुरबाट खटिएको प्रहरी टोलीले भारतबाट भन्सार छली अवैध रुपमा लु १ ज ४२७९ नम्बरको पिकअपमा लोड गरि ल्याउदै गरेको १०४ प्याकेटमा ४१६ पिस टायल सरावल गाउँपालिका वडा नं. ७ मोजरहिया बाट गाडी र गाडी चालक सहित नियन्त्रणमा लिइएको हो । उक्त टायलको मुल्य १ लाख २४ हजार ८ सय र पिकअप गाडीको अन्दाजी मुल्य ९ लाख गरी १० लाख २४ हजार ८ सय मुल्य बराबर रहेको प्रहरीले जनाएको छ । बरामद टायल,गाडी र गाडी चालकलाई सोही दिन आवश्यक कार्यवाहीको लागि महेशपुर भन्सार कार्यालय पठाइएको सुचना अधिकारी लामाले बताए । त्यसैगरी ईलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको प्रहरी टोलीले भारतबाट भन्सार छली अवैध रुपमा ल्याई लुकाई छिपाई राखेको २ लाख २७ हजार ४ सय ३४ मुल्य बराबरको थान कपडा, धनियाको बिउ, गरम मसला लगायतका मालसामान बर्दघाट नगरपालिका वडा नं. ७ ज्यामिरेभार बाट बरामद गरेको जनाएको छ ।
त्यसैगरी सिमा प्रहरी चौकी महेशपुरबाट खटिएको प्रहरी टोलीले भारतबाट भन्सार छली अवैध रुपमा ल्याई लुकाई छिपाई राखेको अन्दाजी १ लाख ९ हजार १ सय मुल्य बराबरको जेसिबीका बिभिन्न पार्टपुर्जा, थाल, ढोकाको कब्जा , चिनी, सुर्ती लगायतका मालसामान सरावल गाउँपालिका वडा नम्बर ७ बुलन्दपुर बाट बरामद गरेको छ । त्यसैगरी जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलिले भारतबाट अवैध रुपमा ल्याउदै गरेको अन्दाजी १९ हजार ६ सय मुल्य बराबरको ४९ गोटा (९८ केजी) जिउदो बोईलर कुखुरा रामग्राम नगरपालिका वडा नं. १६ हकुई बाट बरामद गरेको जनाएको छ । बरामद भएको कुखुरा आवश्यक कारवाहीको लागि महेशपुर पशु क्वारेन्टाईनमा बुझाईएको सुचना अधिकारीले समेत जानकारी दिए ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।