सप्तरी। नेकपा दुई समूहमा विभाजित भएपछि आफ्नो पक्षमा भीड देखाउने होडबाजीमा सप्तरीमा नेकपा ओली समूहको कार्यक्रममा दुई सय रुपैयाँ भत्ता र खाजा खुवाउने आश्वासन दिएर सर्वसाधारणलाई जम्मा पारिएको खुलासा भएको छ।
राजविराजस्थित राजरंगशालामा मंगलबार आयोजित ओली समूहको आमसभामा सहभागी हुन आउनेलाई पैसाको लोभ देखाइएको हो। सभालाई ओली समूहका नेता एवं बिना विभागीय उपप्रधानमन्त्री ईश्वर पोखरेलले सम्वोधन गरेका थिए।
सभामा सहभागी हुन आएकी मुक्तादेवी सदाले ओली समूहका स्थानीय नेता दुर्गा ठाकुरले आफूहरुलाई पैसा र खाजा खुवाउने भन्दै ट्याक्टरमा राखेर कार्यक्रमस्थलमा ल्याएको बताइन्।
सप्तरी गोइठीका परमेश्वर सदाले पैसा लिएर आफूहरु कार्यक्रममा आएको स्वीकार गरे। उनले आफ्नो टोलबाट मुसहर समूदायका करिब ७० जना सभामा उपस्थित भएको उल्लेख गरे। संसद बिघटनपछि नेकपाको दुवै समूहले आफ्नो पक्षमा जनमत रहेको देखाउन शक्ति प्रदर्शन गरिरहेका छन्।
राजधानीसहित देशका विभिन्न स्थानमा दुवै समूहका भेला, प्रदर्शन र सभा भइरहेका छन्। ९ माघमा नेकपाको प्रचण्ड–नेपाल समूहले काठमाडौंमा शक्ति प्रदर्शन गरेको थियो। २३ माघमा नेकपा केपी शर्मा ओली समूहले राजधानीमा जनसभा गर्दैछ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।