काठमाडौं। नेपालमा कोभिड–१९ विरुद्धको खोप अभियान बुधबारदेखि सुरु हुँदै छ। सातै प्रदेशमा एकै पटक सुरु हुने सो खोपको उट्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्दै छन्। प्रधानमन्त्रीले उट्घाटन गरेलगत्तै सातै प्रदेशका अग्रपंक्तिमा काम गर्ने स्वास्थ्यकर्मी तथा अन्य समूहले खोप लगाउने कार्यक्रम छ।
अभियानसँगै नेपाल कोभिड–१९ विरुद्धको खोप पाउने मुलुकमा दक्षिण एसियामा भारतपछि दोस्रो मुलुक रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। नेपालपछि बुधबार दिउँसो बंगलादेशमा खोप अभियान सुरु हुने भएको छ।
भारतले एक साताअघि अनुदानस्वरुप दिएको अक्सफोर्ड विश्वविद्यालय र औषधि उत्पादक कम्पनी अस्ट्राजेनिकासँगको सहकार्यमा भारतको सेरम इन्सिच्युट अफ इन्डियाले उत्पादन गरेको ‘कोभिडसिल्ड’ नामक खोप लगाइँदै छ।
पहिलो चरणमा अग्रपंक्तिमा काम गर्ने स्वास्थ्यकर्मी, सफाइ कर्मचारी, एम्बुलेन्स चालक, शव व्यवस्थापनमा संलग्न कर्मचारी र शववाहन चालकलगायत छन्। पहिलो चरणमा ४ लाख ३० हजारलाई खोप लगाइने परिवार कल्याण महाशाखाले जनाएको छ। बुधबार देशभरि १ सयभन्दा बढी खोप केन्द्रबाट खोप दिइने कार्यक्रम रहेको छ।
हाल नेपालमा प्रयोग हुन लागेको कोभिडसिल्ड खोप अनुसन्धानबाट प्रमाणित खोप भएकाले सुरक्षित रहेकाले खोप लगाउँदा डर मान्नु नपर्ने महाशाखा प्रमुख डा. तारानाथ पोखरेलले बताए। नयाँ रोगमा आएको खोप भएकाले कतिपयको मनमा डर लागिरहेको पाइएकाले कोही पनि नडराउन डा. पोखरेलको सुझाव छ । नागरिक दैनिकमा समाचार छ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।