दाङमा कोरोना बिरुद्धको पहिलो चरणको खोप लगाउन सुरु



दाङ, माघ १४ ।दाङमा कोरोना बिरुद्धको पहिलो चरणको खोप लगाउन सुरु गरिएको छ । पहिलो चरणमा घोराही र तुलसीपुरमा गरि दुई स्थानमा खोप लगाउन सुरु गरिएको हो । पहिलो चरणमा जिल्लाका स्वास्थ्यकर्मीहरु लाई खोप लगाउन सुरु गरिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले खोप अभियानको उद्घाटन गरेपछि जिल्लामा पनि यसको सुरुवात गरिएको हो । घोराही स्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रतिष्ठानका डिन, प्रसुती रोग विशेषज्ञ डा. बसन्त लामीछाने, अस्पतालका हाडजोर्नि विशेषज्ञ डा.सागर पन्थीलाई खोप लगाएर यसको सुरुवात गरिएको हो ।

पन्थी पछि अन्य चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई खोप लगाउन सुरु गरिएको थियो ।
त्यस क्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. संगिता भण्डारीले जिल्लाको एकमात्रै कोरोना परिक्षण प्रयोगशालाका रुपमा प्रतिष्ठान चुनिएको र अहिले खोप केन्द्रका रुपमा पनि प्रतिष्ठान चुनिएकाले कोरोना रोकथामका लागि प्रतिष्ठान र यहाँको जनशक्तिले उल्लेख्य योगदान गरेको बताईन् ।

‘कोरोना महामारीका बेला यसको रोकथामका लागि अग्रपंक्तीमा रहेर प्रतिष्ठानको जनशक्तिले काम गर्यो,’ उनले भनिन् ‘र अहिले खोप लगाउनका लागि पनि प्रतिष्ठानले उत्तिकै महत्वपूर्ण जिम्मेवारी पाएको छ, र प्रतिष्ठान यसका लागि पूर्ण रुपमा तयार छ ।’ साथै उनले यो खोप मानव स्वास्थ्यका लागि हानिकारक नभएकाले कोहि आत्तिन नहुने समेत बताईन् ।

‘यसले मानव स्वास्थ्यमा कुनै खाले गम्भिर असर पार्दैन,’ उनले भनिन् ‘फलतः कोरोना बिरुद्ध लड्ने यो खोप देखि कोहि डराउनु या आत्तिनु पर्ने छैन ।’

दाङका घोराही स्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र तुलसीपुर स्थित प्रादेशिक अस्पतालबाट बुधबार देखि खोप लगाउन सुरु गरिएको र शुक्रबार देखि लमही अस्पताल बाट पनि खोप लगाउन सुरु गरिने भएको छ ।

प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यका अनुसार जिल्लाको पश्चिम क्षेत्रका लागि तुलसीपुर स्थित प्रादेशिक अस्पताल, घोराही क्षेत्रका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र देउखुरी क्षेत्रका लागि लमही अस्पतालमा खोप लगाईने छ ।
पश्चिम क्षेत्रका तुलसीपुर उपमहानगरपालिका सहित दंगीशरण, बबई र शान्तीनगर गाउँपालिकाका स्वास्थ्यकर्मीहरुलाई तुलसीपुर स्थित प्रादेशिक अस्पतालमा, घोराही उपमहानगरपालिका र बंगलाचुली गाउँपालिकाका लागि घोराही स्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा र लमही नगरपालिका सहित राप्ती,गढवा र राजपुर गाउँपालिकाका लागि लमही अस्पतालमा खोप लगाईने प्रमुख जिल्ला अधिकारी आचार्यले जानकारी दिए ।

बुधवार देखि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र प्रादेशिक अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी तथा सरसफाईकर्मीहरुलाई खोप लगाउन सुरु गरिएको छ । शुक्रबार देखि बिभिन्न पालिकाका स्वास्थ्यकर्मीहरुलाई पनि खोप लगाउन सुरु गरिने छ ।

‘अहिले सुरुमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका स्वास्थ्यकर्मी, चिकित्सक तथा सरसफाईकर्मीहरुलाई खोप लगाउन सुरु भएको छ,’प्रुमख जिल्ला अधिकारी आचार्यले भने ‘शुक्रबार देखि भने हरेक पालिकाका स्वास्थ्यकर्मीहरुलाई पनि खोप लगाउन सुरु गरिने छ ।’

उनका अनुसार पहिलो चरणमा जिल्लामा तीन हजार जनालाई पुग्ने खोप आईपुगेको छ । अबका चरणमा आउने खोप सुरक्षाकर्मी लगाएत सर्वसाधारणहरुको पहुँचमा पनि पुग्ने प्रमुख जिल्ला अधिकारी आचार्यले वताए ।

 

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्