Banner Third

मुख्यमन्त्री राईविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव पारित हुने – नेता भीम आचार्य

By Thaha - Online

January 27, 2021

विराटनगर। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-माधव समूहका नेता भीम आचार्यले प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव पारित हुने बताएका छन्। विराटनगरमा पत्रकार सम्मेलन गर्दै उनले प्रदेशसभाको अबको बैठकमा उक्त प्रस्ताव पारित हुने बताए। गत पुस १२ गते नेकपा प्रचण्ड-माधव समूहले मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्दा आचार्यलाई मुख्यमन्त्रीको रुपमा अघि सारेको छ। ७ माघमा प्रदेश १ को सातौं हिउँदे अधिवेशनको पहिलो बैठक करिब ३ मिनेट बसेर अनिश्चितकालका लागि स्थगित भएको थियो।

प्रदेश १ मुख्यमन्त्री शेरधन राईको विवाहका कारण प्रदेश १ को हिउँदे अधिवेशन केही दिनलाई रोकिएको उल्लेख गर्दै आचार्यले अविश्वासको प्रस्तावमा प्रतिपक्षी दलहरुले पनि समर्थन गर्ने बताए। अविश्वासको प्रस्ताव पारित गर्ने र त्यसपछि सरकार गठनका विषयमा प्रतिपक्षी दलसँग सहकार्य गर्ने उनले बताए। बुधबार पत्रकार सम्मेलन गर्दै उनले अविश्वासको प्रस्ताव पास गराएर कांग्रेससँग सरकार र पदीय भागवण्डाका विषयमा छलफल हुने बताए।

अविश्वसको प्रस्तावमा हस्ताक्षर गरेका पाँचजनाले हस्ताक्षर फिर्ता लिएपनि पार्टीको संसदीय दल भित्र आफ्नो समूहको स्पष्ट बहुमत रहेको उनले बताए। प्रतिनिधिसभा विघटनको विरोधमा रहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-माधव समूहले विराटनगरमा ६० हजार समर्थक उतार्ने दावी गरेको छ।

शुक्रबार विराटनगरमा ६० हजार समर्थक उतार्ने तयारी भएको आचार्यले बताए। भेलालाई सम्बोधन गर्न नेकपा प्रचण्ड-माधव समूहका अध्यक्ष माधवकुमार नेपाल र पुष्पकमल दाहाल प्रचण्ड आउनेछन्। प्रतिगमनको विरोधमा र्‍यालीसहित विराटनगर बजार परिक्रमा गरी महेन्द्र चोकमा कोणसभा गरिने उनले बताए।