नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आईपीओ ५० कित्तासम्म माग गर्ने सबैले पाउने



काठमाडौं। नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको आईपीओ ५० कित्तासम्म माग गर्ने सबैले पाउने भएका छन्। कम्पनीले बुधवार आईपीओको प्रि – अलोटमेण्ट सम्पन्न गरी १४ लाख ७५ हजार ८० जनाको आवेदन योग्य रहेको जानकारी दिएको हो। कुल आवेदकमध्ये ६ हजार २७६ जनाको आवेदन भने रितपूर्वक नभएकाले रद्द भएको विक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेडले बताएको छ।

क्यापिटलले १० देखि ५० कित्तासम्म आईपीओ माग गर्नेले माग बमोजिमनै शेयर पाउने जानकारी दिएको छ। यसरी बाँडफाँट गरेर बाँकी रहेको शेयर भने ६० कित्ताभन्दा बढी माग गर्ने आवेदकहरुमा गोलाप्रथाद्धारा बाँडफाँट गरिनेछ। आईपीओ बाँडफाँट विक्री प्रबन्धकको कार्यालयमा विहान १० बजे हुनेछ ।

कम्पनीले माघ २ देखि ६ गतेसम्म सर्वसाधारणका लागि आईपीओ विक्री गरेको थियो। कम्पनीले ८ अर्ब बराबरको ८ करोड कित्तामध्ये ७ करोड ५८ लाख ४० हजार कित्ता शेयर सर्वसाधारणका लागि सार्वजनिक निष्कासन गरेको हो। कुल कित्तामध्ये ५ प्रतिशत दरले ४० लाख कित्ता सामूहिक लगानी कोषका लागि र शून्य दशमलव २ प्रतिशतका दरले १ लाख ६० हजार कित्ता शेयर कम्पनीका कर्मचारीहरुका लागि छुट्याइएको छ।

अधिकत पूँजी ४० अर्ब र जारी पूँजी २० अर्ब रहेको बैंकको हाल चुक्तापूँजी १२ अर्ब रहेको छ । आईपीओ पश्चात कम्पनीको जारी पूँजी बराबरको रकम कायम हुनेछ । उक्त कम्पनीले धितोपत्र बजारको इतिहासमै सबैभन्दा बढी कित्ता शेयर सर्वसाधारणमा जारी गरेको हो।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्