पार्टी विभाजनको मुख्य कारण आलोपालो प्रधानमन्त्री : उपाध्यक्ष गौतम



काठमाडाैं। नेकपाका उपाध्यक्ष वामदेव गौतमले कार्यकारी जिम्मेवारी पाउने विश्वासमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आलोपालो प्रधानमन्त्री बन्ने सम्झौता छाड्नु नै पार्टी विभाजनको मुख्य कारण भएको बताएका छन् । बुधबार पार्टी एकता राष्ट्रिय अभियानको घोषणा गर्दै गौतमले आलोपालो प्रधानमन्त्री बन्ने जगमा पार्टी एकता भएको भए पनि प्रचण्डले सचिवालयका अन्य सदस्यहरूसँग छलफल नगरी त्यसलाई छाड्नु र ओलीले पनि एकताको आधार बुझ्न नसक्नु नै विभाजनको कारण देखाए ।

ओली र प्रचण्डबीच ४ मंसिर ०७६ मा ओली पाँच वर्ष प्रधानमन्त्री रहने र प्रचण्डले कार्यकारी अध्यक्षको भूमिका खेल्ने सहमति भएको थियो । गौतमले सम्झौता प्रचण्डले त्यागेपछि नै विभाजनको आधार खडा भएको बताए । ‘गत वर्ष ४ मंसिरमा प्रचण्डले म प्रधानमन्त्री भएर प्रचण्ड भएको होइन, दुईपटक प्रधानमन्त्री भइसकेको छु, मलाई फेरि प्रधानमन्त्री हुनैपर्ने छैन । मैले कार्यकारी भएर काम गर्न पाएपछि एकताको वेला भएको आलोपालो सहमति मैले छाडेँ । मैले प्रधानमन्त्री सञ्चालन गर्न पाउने आधा समय पनि तपाईंलाई दिएँ भन्नुभयो ।

आजको विभाजनको सुरुवात त्यसैवेला भयो । पार्टी एकताको सबैभन्दा महत्वपूर्ण पक्ष आलोपालो नै थियो । त्यो नहुँदासम्म एकता हुँदै भएन । ओलीले आफूलाई अभिभावक ठान्नुहुन्थ्यो भने उहाँले पनि आलोपालो एकताको आधार हो, तपाईंले आज छाडेर मैले लिन हुन्न, पार्टी एकता पूरा नहुँदै तपाईंले छाड्‍नुभयो भने एकता अगाडि बढ्दैन, आलोपालोमै तपाईं बस्नुस्, म छाड्छु भन्नुपर्दथ्यो । तर, उहाँले पनि छाड्नुभएन,’ गौतमले भने ।

प्रचण्ड–नेपाल र ओली समूहले एक–अर्कालाई विभाजनका लागि जिम्मेवार ठहर्‍याइरहेका वेला गौतमले एकताकै वेलाको सहमति तोडिएपछि विभाजनको आधार तयार भएको बताएका हुन् । गौतमले फुटाउनकै निम्ति प्रचण्ड–नेपाल समूहले अविश्वासको प्रस्ताव अगाडि सारेको र पार्टी फुट्छ भनेर नै ओलीले प्रतिनिधिसभा भंग गरेको बताए । आफूले प्रचण्डलाई साथ दिँदै उनको समूहमा लागे पनि प्रचण्डले आफूलाई थाहै नदिई अढाई वर्षपछि प्रधानमन्त्री बन्ने सहमति छाडेको गौतमको जिकिर थियो । प्रचण्डको कमजोरीले पार्टी विभाजनको विजारोपण गरे पनि ओलीले पद त्यागमा महानता नदेखाएकाले दुवैजनाले विभाजनमा बराबर भूमिका खेलेको पनि आरोप लगाए ।

निर्वाचन आयोगको पछिल्लो निर्णयले पुनः एकताको आशा पलाएको जिकिरसहित पार्टी विभाजनपछि तटस्थ रहेका नेकपाका उपाध्यक्ष गौतमले पार्टी एकता राष्ट्रिय अभियानको घोषणा गरेका छन् । ६ सय ५१ सदस्यीय केन्द्रीय समन्वय समिति र एक सय ७५ सदस्यीय कार्यसम्पादन समिति रहेको संगठनात्मक संरचनासहित गौतमले बुधबार धोबिघाटस्थित सिद्धार्थ कटेजमा आयोजित कार्यक्रममा अभियानको घोषणा गरेका हुन् ।

गौतमको अभियानमा दैनिक कामकाजका लागि कार्यसम्पादन समिति सदस्यहरूमध्येबाट सचिवालय गठन गरिने जनाइएको छ । गौतमको अभियानलाई साबिक चार सय ३४ सदस्यीय केन्द्रीय कमिटीबाट सहसंयोजक बसेर हरि पराजुलीले मात्रै साथ दिएका छन् । युवा संघका पूर्वनेता बाबुराम थापा अभियानको सचिव बनेका छन् । गौतमको अभियानमा विघटित प्रतिनिधिसभाकी सांसद तथा उनकी पत्नी तुलसा थापा, सांसद माया ज्ञवाली, बागमती प्रदेशका सांसद विनोद खड्का, कीर्तिपुर नगरपालिकाका प्रमुख रमेश महर्जन, उपप्रमुख सरस्वती खड्का, पूर्वसांसद डिबी कार्की, तत्कालीन एमालेको सहकारी विभाग सदस्य केबी उप्रेती, त्रिविका पूर्वउपकुलपति हिराबहादुर महर्जनलगायत सामेल भएका छन् ।

प्रधानमन्त्री ओली समूह र प्रचण्ड–नेपाल समूह दुवैतिरका थुप्रै केन्द्रीय सदस्यले साथ दिने वचन दिए पनि उनीहरू अन्ततः विभाजनतिरै लागेको जानकारी दिँदै गौतमले सकेसम्म तीनदेखि ६ महिना र बढीमा दुई–तीन वर्षभित्र पार्टी एकता गराएरै छाड्ने घोषणा गरे । ‘उत्तरतिर फर्किएका केपी ओली र दक्षिणतिर फर्किएका प्रचण्डलाई विपरीत दिशाबाट आमने–सामने बनाउने काम हामी (वामदेव गौतमसहित)ले सम्पन्न गरेपछि मात्र यो अभियानले विश्राम लिन्छ,’ गौतमले भने, ‘त्यसअघि नै कुनै कित्तामा सामेल हुन्छ भन्ने कुरा शतप्रतिशत झुटो हो, हामी जसरी पनि एकीकरण अभियान सफल बनाएरै छाड्छौँ ।’

१३ वर्षको मिहिनेतमा एकीकरण भएको पार्टी तीन वर्षकै बीचमा विभाजित भएको भन्दै गौतमले आफूले पहिले गणतन्त्र र पार्टी एकताको सपना पूरा गरे पनि अब भने पुनः एकता र समाजवादको विजारोपण गर्ने सपना गरेर मात्रै राजनीतिबाट विश्राम लिने बताए । गौतमले निर्वाचन आयोगको पछिल्लो निर्णयले पुनः एकताको औचित्य पुष्टि हुने भन्दै एकताको आशा पलाएको अवधारणापत्रमा उल्लेख गरेका छन् । ‘नेपालको निर्वाचन आयोगले ११ माघ ०७७ का दिन पार्टी दर्ताका निम्ति प्रस्तुत गरिएका कागजातहरूको अध्ययन गर्दै हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुवै समूहलाई अलग–अलग पार्टीका रूपमा दर्ता गर्न नसकिने निर्णय गरेको छ । यो निर्णयबाट पार्टी एकतालाई जोगाउन सकिने आशा पलाएको छ,’ अवधारणापत्रमा भनिएको छ ।

आयोगले नेकपाको साबिक चार सय ४१ सदस्यीय केन्द्रीय कमिटीलाई वैधानिकता दिएको थियो। तर, दुई अध्यक्षको सहमतिमा महासचिवले बैठक बोलाएर निर्णय गरिएको अभिलेखबाट पुष्टि हुँदा मात्र त्यसले वैधानिकता प्राप्त गर्ने स्मरण गराएर आयोगले बहुमत र दुईतिहाइको प्रक्रियाबाट अध्यक्ष हटाउने, चयन गर्ने, विधान संशोधन गर्न सकिनेलगायत विषयमा जानकारी गराएर कानुनी हिसाबले अहिलेसम्मको प्रक्रियाबाट नेकपा विभाजन हुन नसक्ने निर्णय सुनाएको छ। आयोगको यो निर्णयले राजनीतिक रूपमा विभाजित नेकपा विभाजन कठिन देखिएपछि गौतम अभियानका लागि उत्साहित बनेका छन्।

गौतमले घोषणा गरेको एकता राष्ट्रिय अभियानको अवधारणापत्रमा सबै प्रदेश समन्वय समिति, जिल्लामा पालिकाहरूको प्रतिनिधित्व रहने गरी ७५ सदस्यीय जिल्ला समन्वय समिति, सबै पालिकाहरूमा वडाहरूको प्रतिनिधित्व हुने गरी ५१ सदस्यीय र वडाहरूमा १५ सदस्यीय समन्वय समिति रहने संगठनात्मक संरचना रहने जानकारी गराइएको छ । त्यस्तै, सबै तहका समितिमा संयोजक, सहसंयोजक, सचिव, सहसचिव, कोषाध्यक्ष रहने, केन्द्रीय समन्वय समितिमा संगठन, प्रशिक्षण र प्रचारप्रसारका कार्य गर्न तीनजना सहसचिवहरूको व्यवस्था गरिने पनि जनाइएको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्