अनलाइन श्रम स्वीकृति कसरी लिने जान्नै पर्ने तथ्यहरु



माघ १४, काठमाडौं । वैदेशिक रोजगार विभागले गत पुस देखि अनलाइन पुनः श्रम स्वीकृति दिन सुरु गरेको छ । नयाँ नीतिसंगै श्रम स्वीकृति लिनका लागि नेपालस्थित श्रम कार्यालयमै धाउनुपर्ने बाध्यता हटेको छ ।अनलाइन माध्यमबाट विश्वको जुनसुकै कुनाबाट पनि श्रम  स्वीकृति  लिने ब्यवस्था मिलाइएकाे हाे ।

अनलाइन श्रम स्वीकृति कसरी  लिन सकिन्छ ?  

अनलाइनबाट पुनः श्रम स्वीकृति लिन भन्दा अघि तपाईले यी ६ थरीका कागजात सकंलन गर्नुहोस ।

१. पासपोर्ट साइजको स्पस्टसँग आउने फोटो स्क्यान गर्नुहोस वा राम्रो मोबाइल वा क्यामरा छ भने त्यसले पासपोर्ट साइजको फोटो खिच्नुहोस

२. तपाइको राहदानीको पेज न. २, ३ र ३१ को पाना स्क्यान गर्नुहोस्

३. भिसाको स्क्यान कपी (पुरानो भिसा भए सो राहदानी र हालको भिसा दुबैको स्क्यान कपी चाहिन्छ)

४. अध्यागमन कार्यालयले राहदानीमा लगाएको डिपार्चर र अराइभल स्टाम्प भएको राहदानीको पानाको स्क्यान गर्नुहोस ।

५. यसअघि श्रम स्वीकृति पाएको भन्दा फरक रोजगारदाताकोमा काम गर्न जाने कामदारको लागि रोजगारदाताले उपलब्ध गराएको जब अफर लेटर वा सम्झौता पत्रको स्क्यान कपी ।

६. रोजगारदाता मुलकस्थित नेपाली दूतावास वा नियोगको प्रमाणीकरण पत्र आवश्यक पर्ने भनि तोकिएको अवस्थामा सोको स्क्यान कपी र अन्य कुनै प्रमाण कागजातहरु भए ती सबै स्क्यान गरेर तयारी अवस्थामा राख्नुहोस् ।

६ प्रकारका कागजात संकलन गरेपछि अब तपाईं  अनलाइनमा फारम भर्न सुरु गर्नुहोस् ।

१. सुरुमा https://dofe.gov.np/ मा गई अनलाइन श्रम स्वीकृतिमा क्लिक गर्नुहोस् ।

२. तपाईले यसअघि श्रम स्वीकृति अनलाइनबाट नै लिनु भएको छ भने पासवर्ड तपाईसँगै सुरक्षित हुन्छ । तपाईले पुरानै युजरनेम र पासवर्ड प्रयोग गरी साइन इन गर्न सक्नुहुनेछ ।

उक्त युजरनेम र पासवर्ड प्रयोग गरी अर्को पटक श्रम स्वीकृति लिन, श्रम स्वीकृतिको अवस्थाको अवस्था थाहा पाउन, वैदेशिक रोजगार विभागमा कुनै उजुरी वा गुनासो गर्न र वैदेशिक रोजगारसम्बन्धी विवरणहरु हेर्नका लागि आवश्यक पर्ने भएकाले तपाईले यो सुरक्षित राख्नुहोस् ।

३. पहिलो चरणमा दिईएको लिंकमा क्लिक गरेर अनलाइन श्रम स्वीकृतिमा क्लिक गरेपछि पासपोर्ट नम्बर हानेपछि तपाईंको व्यक्तिगत विवरण सहितको प्रोफाइल खुल्नेछ । प्रोफाइल पेजमा रहेको तपाईको व्यक्तिगत विवरण अद्यावधिक गर्नुपर्ने भएमा प्रोफाइल मेनुमा क्लिक गरेपछि देखा पर्ने इडिट अप्सनमा क्लिक गरी आफ्नो विवरण सच्याउन सकिन्छ ।

उक्त पेजमा स्टार चिह्न भएकाहरु सबै विवरण अनिवार्य भर्नुपर्छ । यसअघि पुरानो पासपोर्टबाट श्रम स्वीकृति पाएको तर अहिले नयाँ पासपोर्टबाट श्रम स्वीकृति लिनुपर्ने भएमा न्यू पासपोर्ट इन्फोमा गएर नयाँ पासपोर्टको विवरण भरेर सो पासपोर्टको २, ३ र ३१ पेजको स्क्यान कपी अपलोड गर्नुपर्छ । त्यसपछि तपाईले विवरण सवमिट बटनमा थिचेर सेभ गर्नुपर्छ ।

अब तपाईले भरेको सबै विवरण ठीक छ कि छैन हेरेर यकिन गरी सच्याउनु पर्ने भएमा प्रोफाइल मेनुको इडिट बटनमा क्लिक गरी सच्याउनु पर्छ । अर्को प्रक्रिया सुरु भइसकेपछि भने सच्याउन मिल्दैन ।

४. अब पुनः श्रम स्वीकृति माग गर्न रिइन्ट्री मेनुमा गई इम्प्लोइमेन्ट डिटेल्समा क्लिक गर्नुहोस र त्यहाँ एड न्यू बटन देखिन्छ, त्यसमा क्लिक गरी माग गरिएको विवरण भर्नुपर्छ र माग गरिएका कागजातहरुको स्क्यान कपी समेत अपलोड गर्नुपर्छ ।

५. स्वीकृति प्राप्त बिमा कम्पनीमा गई बिमा गर्नुहोस् र अनलाइनमा अपलोड भएको वा नभएको यकिन गर्नुहोस् ।

बिमाको साथै कल्याणकारी कोषमा पनि पैसा तिर्नुपर्छ, यसका लागि वैदेशिक रोजगार प्रवद्र्धन बोर्डबाट वैदेशिक रोजगार कल्याणकारी कोषको रकम जम्मा गर्न अनुमति पाएको कुनैपनि एक बैंकमा गएर कल्याणकारी कोषको खातामा २ वर्षदेखि ३ वर्षको अवधिको लागि पुन: श्रम स्वीकृति निकाल्ने हो भने १ हजार ५ सय रुपैयाँ र ३ वर्ष भन्दा बढी समयको लागि हो भने २ हजार ५ सय रुपैयाँ रकम तिर्नुपर्छ । बैंकले पनि रकम जम्मा भएको विवरण अनलाइनबाटै पठाउँछ ।

६. रि–इन्ट्रि मेनुमा भएको इन्डिभ्यूजअल रि–इन्ट्री रिक्वेस्टमा क्लिक गर्नुहोस् र इन्स्योरेन्स र क्यास डिपोजिटमा ठीक चिह्न लागेको भएमा दाहिने कुनामा भएको एक्सन आइकन क्लिक गरी रिक्वेस्ट बटनमा क्लिक गर्नुहोस् । त्यसपछि आउने उपलब्ध शाखा र सो शाखाले उपलब्ध गराएको दिनको टोकन मिति छनोट गर्नुहोस् । हालका लागि अनलाइन श्रम स्वीकृतिका लागि अनलाइन ब्रान्च छान्न सकिन्छ ।

माथिका सबै प्रक्रिया पूरा भएपछि अनलाइनमार्फत श्रम स्वीकृतिका लागि तपाईको आवेदन पेश हुन्छ । श्रम स्वीकृतिको निस्सा प्रिन्ट गर्न आवश्यक भएकामा प्रिन्ट गर्न सकिनेछ ।

अब तपाइँको आवेदन विभागले क्रमश: हेर्छ र भेरिफाइ गर्छ । उक्त विवरण तपाइँले तपाइको मोवाइल वा इमेलमा पाउन सक्नुहुन्छ । यदी कुनै कागजात नमिलेको खण्डमा आवेदन अस्वीकृत गर्नुपर्ने भएमा कारण सहितको विवरण मोवाइल वा इमेल मार्फतनै जानकारी पाइन्छ ।

७. अनलाइन पुनः श्रम स्वीकृति लिन पासवर्ड वा इमेल बिर्सिनुभयो भने के गर्ने ?

यदि तपाई अनलाइनबाट पुनः श्रम स्वीकृति लिन लाग्नुभएको छ र पासवर्ड वा इमेल बिर्सिनुभएको छ भने नआत्तिनुहोस् । अनलाइन पुनः श्रम स्वीकृतिको लागि सेवाग्राही आफैले आवेदन गरी श्रम स्वीकृति लिन सक्ने व्यवस्था भएकाले पहिले फारम भर्दाको एफईआईएमएस युजर अकाउन्टबाटै आवेदन दिनुपर्ने हुन्छ । तपाईले एफईआईएमएस युजर अकाउन्टको पासवर्ड बिर्सिनुभएको छ भने फोर्गेट पासवर्डमार्फत पासवर्ड प्राप्त गर्न सकिने वैदेशिक रोजगार विभागले जनाएको छ ।

तर यदि एफईआईएमएस युजर अकाउन्टको इमेल ठेगाना वा मोबाइल नम्बर गलत प्रविष्ट गरिएकाले पासवर्ड रिकभर हुन नसकेमा भने पासवर्ड रिसेट गर्नुपर्ने विभागले जनाएको छ । त्यसको लागि काठमाण्डौमा रहेको वैदेशिक रोजगार कार्यालय, प्रदेशमा रहेका श्रम कार्यालय, गन्तव्य देशमा रहेका नेपाली कुटनीतिक नियोगबाट निवेदनको ढाँचा प्राप्त गरी रिसेट गर्न सकिने विभागले जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्