काठमाण्डौ , २७ पुस । बिहीबार विज्ञप्ति निकालेर डा. केसीले प्रधानन्याधीश गोपाल पराजुलीले राजीनामा दिनुपर्नेलगायत माग पूरा नभएसम्म अनशन जारी राख्ने जानकारी गराएका हुन्। उनी त्रिवि शिक्षण अस्पताल, महाराजगन्जमा अनशनमा छन्।
डा.केसीले प्रधानन्याधीश पराजुलीको राजीनामाका अतिरिक्त चिकित्सा शिक्षा आयोग गठन गर्न, वरिष्ठताका आधारमा नियुक्त डिनलाई कायम गर्न र त्रिवि पदाधिकारीलाई बर्खास्त गर्न माग राखेका छन्।
सर्वोच्च अदालतले चार वर्ष पुरानो मुद्दामा चिकित्साशास्त्र अध्ययन संस्थानबाट बर्खास्त गरिएका डिन डा. शशी शर्मालाई पुनर्बहाली गरेको भन्दै केसी सोमबार अपरान्ह ४ बजेदेखि अनसन बसेका थिए। अनशनअघि आयोजित पत्रकार सम्मेलनमा केसीले ‘अदालतको अवहेलना’ हुने गरी अभिव्यक्ति दिएको र विज्ञप्ति बाँडिएको भन्दै उनलाई सर्वोच्चको आदेशमा गिरफ्तार गरिएको थियो।
केसीमाथि लगाइएको मुद्दामा मंगलबारदेखि दुई दिन सर्वोच्चमा बयान र बहसपछि उनी बुधबार साँझ बिनाधरौटी रिहा भएका थिए। केसीले रिहा पछि शिक्षण अस्पतालमा अनशनलाई निरन्तरता दिँदै आएका छन्। केसीले प्रधानन्याधीश पराजुलीलाईछानबिनको दायरामा ल्याउने अदालती आदेशको प्रशंसा समेत गरेका छन् ।प्रधानन्यायधीश गोपाल पराजुलीको शैक्षिक प्रमाणपत्र र नागरिकताका प्रमाणपत्रहरु छानबिन गरिनु पर्ने माग अदालतमा बयान गर्ने क्रममा केसीले गरेका थिए ।
थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।