Banner First

सन्तान जन्माउने हामी, वंश राख्ने तिमी ?

By थाहा अनलाइन

January 28, 2021

पुरुष महासय ! ए पुरुष महासय ! सन्तान जन्माउने हामी वंश राख्ने तिमी सम्पति कमाउने हामी अंश राख्ने तिमी झण्डा बोग्ने हामी भाषण गर्ने तिमी जुलुसमा नारा लगाउने हामी मञ्चमा आसन गर्ने तिमी पार्टीमा संगठन गर्ने हामी नेता बन्ने तिमी संघर्ष गर्ने हामी सत्तामा बस्ने तिमी सडक कब्जा गर्ने हामी कुर्सी कब्जा गर्ने तिमी लौ भन, पुरुष महासय कहिलेसम्म चुप लागेर बस्ने हामी ?

ए पुरुष महासय ! घरधन्दा धान्ने हामी मालिक बन्ने तिमी सहिद आमा बन्ने हामी महान योद्धा बन्ने तिमी सहिद पत्नी बन्ने हामी महान त्यागी बन्ने तिमी हजारौं चोट खाने हामी शालिक बन्ने तिमी जोखिम मोल्ने हामी अवसर पाउने तिमी उत्पिडन हुने हामी उत्पीडक हुने तिमी लौ अब भन पुरुष महासय कतिसम्म निरीह भएर बस्ने हामी ?

न तिमीले रोजा लक्जमवर्गलाई बचायौ न तिमीले क्लारा जेट्किनलाई सम्मान गर्यौ न क्रुप्सकायालाई न तिमीले चाङ्चिङलाई बचायौ न तिमीले मोतिदेविलाई चिनायौ न तिमीले मंगलादेविलाई स्थान दियौ न तिमीले हसिनादेविलाई चिन्यौ न तिमीले पार्वती पन्तलाई योद्धा गरायौ न तिमीले जनयुद्धका बिरङ्गनाहरुको योगदानको कदर गर्यौ न उनको सपना साकार पार्यौ त्यसैले त पुरुष महासय कतिसम्म लाचार भएर बस्ने हामी ? के अब तिम्रा विरुद्धमा पनि विद्रोह गर्ने बेला भएन र ?