आज किन राजीनामा दिँदै छन्, माओवादी केन्द्रका मन्त्रीहरु ?



सैघाली खबर
काठमाडौं,२८ पुस


माओवादी केन्द्रका मन्त्रीहरूले आठ महिनापछि शुक्रबार पदबाट सामूहिक राजीनामा दिने भएका छन्। बिहीबारै राजीनामा दिने भनिए पनि सार्वजनिक बिदा परेकाले शुक्रबारका लागि सरेको विनाविभागीयमन्त्री गिरिराजमणि पोखरेलले बताए।

प्रधानमन्त्री शेरबहादुर देउवाले ३१ असोजमा नौ मन्त्री र सात राज्यमन्त्रीको जिम्मेवारी खोसेर विनाविभागीय बनाएका थिए। माओवादीका सबै मन्त्री र राज्यमन्त्रीले हस्ताक्षरसहित आफ्नो राजीनामापत्र पार्टी कार्यालयमा बुझाएका छन्। ‘प्रधानमन्त्री शेरबहादुर देउवालाई सामूहिक राजीनामापत्र दिने तयारी गरेका थियौँ,’ पोखरेलले भने, ‘बिहीबार सार्वजनिक बिदा परेकाले राजीनामापत्र पार्टी कार्यालयमा बुझाएका छौँ।

पार्टीले शुक्रबार प्रधानमन्त्रीलाई राजीनामापत्र बुझाउँछ।’ नयाँ जनादेश आएलगत्तै प्रधानमन्त्री देउवाले राजीनामा नदिने देखेपछि नैतिकताका आधारमा राजीनामा दिन लागेको पोखरेलले बताए। ‘ताजा जनादेश आएलगत्तै नैतिकताका आधारमा छिटै प्रधानमन्त्रीले राजीनामा दिनुहुन्छ होला, किन हतारमा हामीले मात्र राजीनामा दिनुपर्‍यो भन्ने थियो,’ उनले भने, ‘तर, प्रधानमन्त्रीले राजीनामा दिन ढिलाइ गर्ने देखिएपछि हामीले राजीनामा दिएका हौँ।’ आफूहरूले राजीनामा दिएमा प्रधानमन्त्रीलाई दबाब बढ्न सक्ने पोखरेलले बताए।

एक साताभित्र मन्त्रीनिवास खाली गर्ने

माओवादीका सबै मन्त्रीले एक हप्ताभित्र मन्त्रीनिवास छोड्ने मन्त्री टेकबहादुर बस्नेतले बताए। ‘हाम्रा पार्टीका केही मन्त्रीहरू उपत्यकाबाहिर हुनुहुन्छ,’ उनले भने, ‘सबै मन्त्रीले निवास छोड्न कम्तीमा पनि एक हप्ता लाग्न सक्छ।’माओवादीका मन्त्री विनाविभागीय बनाइए पनि मन्त्रीनिवासमै बसेका थिए ।

वातावरणमन्त्रीले राजीनामा नदिने

जनसंख्या तथा वातावरणमन्त्री मिथिला चौधरीले भने राजीनामा नदिने भएकी छिन् । ‘माओवादी मन्त्रीहरूले सामूहिक राजीनामा दिँदै हुनुहुन्छ,’ मन्त्री चौधरीले नयाँ पत्रिकासँग भनिन्, ‘तर म निकट नेताहरूसँग छलफल गरेर मात्र राजीनामा दिने(नदिने निर्णयमा पुग्छु ।’ चौधरी नेकपा संयुक्तबाट मन्त्री भएकी थिइन् । संयुक्त र माओवादीबीच गत २५ असोजमा पार्टी एकता भएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्