पोखरा । राम्रो तलब पाउने भन्दै क्यानडा पठाइदिने प्रलोभनमा पारेर ठगी गरेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरी बिहीबार सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा पवर्तको मोदी गाउँपालिका-७ घर भई हाल पोखरा महानगरपालिका-३० शिशुवा बस्ने ३८ वर्षीय धीरजकुमार विश्वकर्मा रहेका छन् ।
पीडित व्यक्तिको जाहेरीका आधारमा विभिन्न ३३ व्यक्तिलाई क्यानडा वैदेशिक रोजगारमा पठाउने बहानामा रु ९० लाख ७१ हजार ५०० ठगी गरेको अभियोगमा गत माघ १३ गते पोखरा-१० रामबजारबाट विकलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक सुवास हमालले बताए ।
अभियुक्त विकले आफू विगत लामो समयदेखि विदेश बसेको र युरोप, क्यानडा, अमेरिका लगायतका देशमा धेरै मानिस रोजगारको लागि पठाइसकेको भनेर विश्वास दिलाइ कास्की, स्याङ्जा, तनहुँ, म्याग्दी लगायतका जिल्लाका युवालाई ठगी गरेको पीडितले दिएको निवेदनबाट पुष्टि भएको प्रहरीले जनाएको छ ।
पीडितहरुलाई विश्वासमा पार्नका लागि आरोपित विकले विभिन्न सहकारी संस्था र विकास बैंकको चेकसमेत दिएको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रनाउ हमालले जानकारी दिए । पक्राउ परेका विकलाई जिल्ला अदालतबाट ठगीसम्बन्धी कसुरअन्तर्गत पाँच दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको बताइन्छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।