काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी नेकपाका सुदूरपश्चिम प्रदेश कमिटी इन्चार्ज भीम रावलले केपी ओलीको कर्तुतका विरुद्धमा सिंगो प्रदेश जुरुक्क उठेको बताएका छन्। धनगढीमा शनिबार आयोजित विरोध सभामा रावलले भने, ‘बालुवाटारमा बस्ने केपी ओली केटोले सुन्नुहोस्, सुदूरपश्चिममा जन्मेको म त्यही केटोले प्रदेशलाई तपाईंको कर्तुतका विरुद्धमा जुरुक्क उठाएको छु।’
रावलले आफैंले हस्ताक्षर गरेको संविधानलाई कुल्चेर ओलीले जनताको अधिकारलाई कमजोर पारी किर्ते गरेको आरोप लगाए। ओलीले संसद विघटन गरेर संविधान विघटनसँगै नेकपालाई विसर्जन गर्न खोजेको उनको भनाई छ। निर्वाचनमा तत्कालीन एमाले र माओवादी मिलेका बेला सबैले भोट दिएको स्मरण गर्दै उनले ओली प्रधानमन्त्री भएको सरकारले मिचिएको भूमि फिर्ता ल्याउने ठानेको भए पनि त्यसो नगरेको बताए।
उनले भने, ‘लिम्पियाधुरा, लिपुलेक प्रधानमन्त्रीले फिर्ता ल्याउनुहुनेछ, समाजवाद उन्मुख अर्थतन्त्रको सुरुवात हुने ठानेका थियौं तर पाँच वर्षका लागि जनताले जनमत दिएकोमा त्यसको ओलीले अपमान गर्नुभएको छ, प्रतिनिधिसभाको विघटनको विरुद्धमा यो आवाज घन्केको छ।’ उनले प्रधानमन्त्री ओलीलाई राष्ट्र र राष्ट्रियता विरोधी कार्य आफूहरूले रोकेको बताए।
ओली संसद, स्थायी कमिटी, नेकपाको केन्द्रीय कमिटीबाट भागेको बताउँदै ओली एक नम्बरको भौगडा भएको उनले बताए। उनले आफू १९ वर्षको उमेरमा केन्द्रीय कारागारमा हुँदा ओली २३ वर्षको केटो भएको चर्चा गर्दै भने, ‘मलाई केटो भन्ने ओलीले सिंहदरबारबाट हेरुन, आज यही केटोले सिंहदरबार हल्लाएको छ, यही केटोले पार्टीका दुई नेतालाई सुदूरपश्चिम ल्याएको छ।’

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।