म्यानमारको सत्तारुढ दल एनएलडीकी नेतृ आङ सान सूची पक्राउ



काठमाडौँ– म्यानमारको सत्तारुढ दल न्याश्नल लिग फर डेमोक्रेसी (एनएलडी) की नेतृ आङ सान सूची पक्राउ परेकी छन् ।

सेनाले सत्ता हत्याउने आशङ्कामा सरकार र सेनाबीच तनाव बढिरहेका बेला सूचीलाई पक्राउ गरिएको हो।

गत नोभेम्बरमा भएको चुनावमा (एनएलडी)ले सरकार गठनका लागि संसद्‌मा पर्याप्त हुने गरी सिट जितेको छ। तर सेनाले भने उक्त चुनावमा धाँधली भएको जनाएको छ।

सोमबार हुन लागेको संसद्को बैठकलाई पछि सार्न सेनाले सरकारलाई आह्वान गरिरहेको छ।

पार्टी प्रवक्ता म्यो न्यूनले रोयटर्स समाचार संस्थालाई फोनमार्फत् जानकारी दिँदै सूचीका साथै राष्ट्रपति वुइन मीयन र अन्य नेताहरूलाई पनि बिहान सबेरै “लगिएको” बताएको बीबीसीले उल्लेख गरेको छ ।

“म हाम्रा मानिसहरूलाई जथाभावी केही नगरियोस् भन्न चाहन्छु र उनीहरूले कानुन अनुसार गरून् भन्ने चाहन्छु,” उनले भने। उनले आफूलाई पनि पक्राउ गरिने ठानेको बताए।

बीबीसीका दक्षिण पूर्व एशिया संवाददाता जोनाथन हेडले राजधानी नेपिद्अ र मुख्य सहर यानगुनका गल्लीहरूमा सेनाहरू देखिएको बताएका छन्।

म्यानमारको राजधानीमा टेलिफोन र इन्टरनेट सेवा बन्द गरिएको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्