डोल्पामा विकराल बन्दै हेपाटाइटिस “बी”



नेपालकै ठूलो जिल्ला डोल्पा १ अधिकांश भूभाग कडा चट्टान र हिमालले ढाकिएको क्षेत्रभित्र पर्दछ । टेलिफोन सेवादेखि सडक यातायातको पहुँचमा उपल्लो डोल्पा अहिलेसम्म पुग्न पुगेको छैन । खासगरी तीनवटा स्थानीय तहमा स्वास्थ्य सेवा, टेलिफोन सेवादेखि खाद्यान्नको पीडा यहाँ बस्ती भएदेखि यहाँका मानिसले भोग्दै आएका छन् ।

उपल्लो डोल्पाले सबै परिवर्तनहरु टुलुटुलु हेर्दै बसेको छ तर आफ्नो ठाउँको प्रगति र विकासका विषयमा भने मौन छ । यहाँका बहुमूल्य जडीबुटीदेखि प्राचीनकालमा निर्मित गुम्बामा रहेका मूर्ति चोरको निशानामा पर्दै आएका छन् । उपल्लो डोल्पामा पाइने जडीबुटीले संसारका मानिसलाई ज्यान बचाउन काम लाग्छ तर यहाँकै मानिसलाई भने सो औषधि आफ्नै गाउँठाउँमा नपाउँदा अकालमै ज्यान जाने गरेको छ ।

गर्भवती जाँचदेखि सुत्केरी हुँदासम्म समस्या पर्ने बित्तिकै लाखौँ रकम खर्च गरेर हेलिकोप्टरमार्फत चार्टर्ड गरेर देशका ठूला शहरमा गई धौधौ ज्यान बचाउनुपर्ने बाध्यता उपल्लो डोल्पाका सर्वसाधारणको सही नसक्नु पीडा छ । एक गाउँबाट अर्को गाउँमा जानका लागि दुई दिन पैदल हिँड्नुपर्ने बाध्यता रहँदै आएको पीडा गाउँलेहरु बताउँछन् । अघिल्लो वर्ष डोल्पोबुद्ध गाउँपालिकामा ‘एक–एक पाइला नेपाल’ले गरेको बृहत् स्वास्थ्य शिविरमा परीक्षण गराउने ३४३ मध्ये ७० जनामा ‘हेपाटाइटिस बी’ पोजिटिभ देखिएको थियो  ।

यस्तै, एक जनामा एचआईभी र तीन जनामा हेपाटाइटिस सी भेटिएको डा. मेलिना हमालले बताइन् । वीर अस्पतालका वरिष्ठ कलेजोरोग विशेषज्ञ डा. सुधांशु केसीले शिविरमा जाँच गराएका ३० प्रतिशतमा ‘हेपाटाइटिस बी’ पोजिटिभ देखिनुले समस्या विकराल नै भएको जानकारी उतिबेला नै दिएका थिए । तिब्बतीयनसँगको हेलमेलका कारण यो रोग भित्रिएको बताउँदै बच्चा जन्मनेबित्तिकै लगाइने ‘हेपाटाइटिस बी’विरुद्धको खोप नलगाइनुले पनि प्रकोप बढ्दै गएको उनको भनाइ थियो ।

‘हेपाटाइटिस बी’ सङ्क्रमितलाई रोगका विषयमा कुनै पनि जानकारी नभएको पाइएकाले न्यूनीकरणका लागि स्थानीय सरकारले जनचेतनामूलक कार्यक्रम गर्नुपर्ने उनले जानकारी दिएका थिए  ।

उपल्लो डोल्पाको धो, साल्दाङ, भिजेर, छार्का, फोक्सुन्डोलगायत गाउँमा यो रोगका मानिस रहेको उपचारमा संलग्न चिकित्सकले बताएका थिए । सोमबार मात्र छार्का ताङसोङ गाउँपालिका-१ का ४५ वर्षीय कार्मा गुरुङ र टोक्कार गुरुङ गरी दुई जनालाई हेपाटाइटिस बीकै कारण थप उपचारका लागि हेलिकोप्टरबाट उद्धार गरी काठमाडौँं लगिएको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए ।

हेलिकोप्टरबाट बिरामी लिँदा स्थानीयको रु पाँच लाखभन्दा बढी खर्च भएको छ । चिकित्सकले उपल्लो डोल्पामा हेपाटाइटिस बीबारेमा जानकारी दिँदादिँदै सरोकारवाला निकाय मौन हुँदा यहाँका नागरिक थप समस्यामा पर्ने निश्चित भएको डा.मेलिना हमालले जानकारी दिइन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्