काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो गुटमा लागेकै कारण कुनै हैसियत नभएको मान्छेलाई राष्ट्रिय सभाको अध्यक्ष बनाएको बताएकी छिन्।
सुनसरीमा आयोजित एक कार्यक्रममा बोल्दै नेतृ झाँक्रीले राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग वडाध्यक्ष जित्ने हैसियत पनि नभएको बताएकी हुन्। ‘‘धेरै सिनियर नेताहरुलाई पन्छाएर वडाध्यक्ष पनि नजित्ने मान्छेलाई राष्ट्रिय सभाको अध्यक्ष बनाइयो’’ उनले कार्यक्रममा भनिन्।
झाँक्रीले प्रधानमन्त्री ओलीले दुई वर्षसम्म बिरामी भएको नाटक गरेको र अन्तिममा संसद विघटन गरेर पाखा लागेको आरोप लगाएकी छन्। राष्ट्रिय युवा संघ बराहक्षेत्र नगर कमिटीले आयोजना गरेको नगरस्तरीय युवा भेला कार्यक्रमलाई सम्बोधन गर्दै उनले केपी ओलीलाई प्रधानमन्त्री बनाउनु नेकपाको सबैभन्दा ठूलो भुल भएको बताइन्।
‘‘ओलीले एकलौटी डिएनए परीक्षण गरेर आफ्नो मान्छेलाई पद दिँदै जानुभयो’’ उनले भनिन्, ‘‘जनकपुर–जयनगर नियुक्तिको फलस्वरूप अहिले रेल त्रिपालमुनी थन्किएको छ।’’
राष्ट्रिय सभामा गणेश तिमिल्सिना केपीको गुटको मान्छे भएकाले नै उनको नियुक्ति भएको झाँक्रीको दाबी छ। ओलीले आजसम्म गरेको कुनै राम्रो भएको भए पनि संसद विघटनले उनको त्यो कामलाई परिपूर्ति गर्न नसक्ने उनको तर्क छ।
प्रधानमन्त्री ओलीले पटकपटक काम गर्न नदिइएको बताइरहेको स्मरण गर्दै उनले प्रश्न गरिन्, ‘‘सरकारलाई काम कहाँ गर्न दिइएन ?’’ उनले थपिन्, काम गर्न दिइएन भन्नेले संसद छोडेर जाने हो, विघटन गर्ने होइन।’’
केपी ओलीले आफूमाथि अविश्वासको प्रस्ताव आउँछ भनेर संसद अन्त्य गरेको नेत्री झाँक्रीको तर्क छ। राष्ट्रपति विद्यादेवी भण्डारीको कटाक्ष गर्दै उनले भनिन्, ‘‘मदन भण्डारीसँगको सेन्टिमेन्टले आजसम्म पनि विद्यादेवी जनताको सेन्टिमेन्टमा खेलिरहेकी छिन्।’’
सत्ता र पैसाको आडमा आज देशभर केपी ओलीले साइबर सेना, साइबर गुरिल्ला खडा गरेको र केपीको कुतर्कलाई पनि ताली बजाउन लगाइएको उनको भनाइ छ। ‘‘केपी ओलीलाई प्रधानमन्त्री बनाउनु नेकपाको ऐतिहासिक भुल हो, त्यसैले केपी ओलीलाई भोट हाल्नेले माफी माग्नुपर्छ’’ उनले भनिन्।
नेत्री झाँक्री पछिल्लोसमय देशभर संसद पुनःस्थापना आफूहरूको एकमात्र माग रहेको बताइन्। झाँक्रीले प्रश्न गरिन्, मुद्दा विचाराधीन छ, निर्वाचनको नाटक छ, मान्छे खरिद गर्न पैसाको चलखेल छ, प्रदेशमा सांसद खरिद गर्न थालिएको छ। यो पैसाको स्रोत के हो ?’’

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।