काठमाडौं । संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले विश्व समुदाय समक्ष म्यानमार घटनामा सेनालाई सफल हुन नदिन आग्रह गरेका छन् । निष्पक्ष रुपमा सञ्चालन गरिएको निर्वाचनको परिणाम जबरजस्ती उल्ट्याउने प्रयास गर्नु स्वीकार्य नहुने उनको भनाई रहेको छ ।
सत्तालाई आफ्नो हातमा लिनेहरुलाई सबैले एक भएर देश चलाउने यसरी होइन भनेर बुझाउनुपर्नेमा उनले जोड दिएका छन् । संयुक्त राष्ट्र संघको सुरक्षा परिषदले अहिले यस सम्बन्धि आधिकारिक धारणा सार्वजनिक गर्नेबारे छलफल गरिरहेको छ तर यसमा चीनले भने म्यानमार घटना विरुद्धको कुनै पनि भनाइ अवरोध गर्ने प्रयास गर्ने अनुमान गरिएको छ ।
बेइजिङले यसअघि पनि यो उनीहरुको आन्तरिक मामिला भएकाले अन्य राष्ट्रले हस्तक्षेप नगरेकै राम्रो हुने धारणा व्यक्त गरेको थियो । सोमबारको यस घटनामा देशकी मुख्य नेतृ आङ सान सुकीसहित सबै सांसदहरुलाई सेनाले नियन्त्रणमा लिँदै देशको सम्पूर्ण शक्ति आफ्नो हातमा लिएको छ ।
हिजो मात्र सेनाले सुकीबारे थप जानकारी दिँदै उनलाई विभिन्न कानुनी अभियोगमा आगामी १५ फेब्रुअरीसम्मका लागि कैद गरिने बताएको छ । पक्राउ परेदेखि सुकी र राष्ट्रपति विन मिन्टको कुनै धारणा आएको छैन । सेनाको उक्त कदमको शैनिक जनरल मिन अङ ह्लेङले नेतृत्व गरेका छन् । एक वर्षका लागि आपत्कालीन घोषणा गरेको सेनाले अहिले नोभेम्बरको चुनावमा धाँधली भएको बताइरहेको छ ।
उक्त निर्वाचनमा सुकीको नेस्नल लिग फर डेमोक्रेसी पार्टीले स्पष्ट बहुमत हासिल गरेको थियो । तर सेनाले लगातार यसमा असन्तुष्टि जनाउँदै आएको थियो । सोमबार सरकारको दोस्रो कार्यकाल सुरु हुने तयारी भइरहँदा अचानक सेनाले सबै सांसद, मन्त्री र राजनीतिक अभियन्ता समेतलाई पक्राउ गरि आफ्नो नियन्त्रणमा लिएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।