काठमाडौं। नेकपा प्रचण्ड–माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान अवस्थाबारे छिट्टै पार्टी तर्फबाट श्वेतपत्र जारी गर्ने बताएका छन्। शनिबार काठमाडौंमा आयोजित मिडिया एलाइन्ससँगको अन्तरक्रिया कार्यक्रलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सशस्त्र संघर्ष, शान्ति सम्झौता, संविधानसभा हुँदै पछिल्लो निर्वाचन शान्ति, सम्मृद्धि र सुशासनका लागि भएपनि त्यो अनुरुप मुलुक अघि बढ्न नसकेको बताए । उनले नेकपामा पछिल्लो पटक देखिएको विवाद किन र के कारणले देखिएको र यसले के कस्तो असर पारेको हो भन्नेबारे श्वेतपत्र जारी गर्न लागिएको बताएका हुन् ।
‘अहिलेको अवस्थाबारे हामी छिटोभन्दा छिटो श्वेतपत्र जारी गर्ने तयारी गर्दैछौ’, अध्यक्ष प्रचण्डको भनाइ छ । उनले संविधानको रक्षा र ठुलो बलिदानबाट प्राप्त उपलब्धि जोगाउनु अहिलेको प्राथमिकता भएको भन्दै सत्य र असत्य,लोकतन्त्र र पश्चगमनबीचको लडाई भइरहेको बताए।उनले संसदमा भएका दुईतिहाइ पार्टीले संसद विघटन असंवैधानिक भनेर संघर्षमा रहेको भन्दै प्रधानमन्त्री केपी ओली प्रधानमन्त्री बनेलगत्तै पार्टीको विधि, विधान र संविधान विपरितको बाटोमा लाग्दै प्रतिनिधि सभा विघटन गरेर प्रतिगामी कदम चालेको बताए ।
प्रचण्डले संविधान र व्यवस्थाको रक्षा गर्नु पहिलो दायित्व भन्दै त्यसका लागि सवैको सहयोग आवश्यक पर्ने पनि बताए । ‘अहिले हामी संविधान, संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि सडकमा छौँ । यसमा मलाई अहिले खुसी लागेको छ । हामी नागरिक आन्दोलनसँगै छौ, मिडियाकर्मीको भावनासँगै जोडिएका छौँ भन्ने लागेको छ’, प्रचण्डले लोकतन्त्रको हत्या गर्ने र लोकतन्त्रलाई जोगाउनेहरु उस्तैउस्तै भनेर भन्ने गरिएको भन्दै त्यसरी नबुझ्न आग्रह गरे । उनले मुलुकमा स्थायित्वका लागि गठबन्धन हुँदै पार्टी एकता गरिएपनि अहिले दुर्घटना भएको बताए ।
‘राम्रो होस् भनेर गर्यौँ। तर अहिले दुर्घटना भएपछि लडाईमा छौ। अनि कसरी उस्तैउस्तै हन्छौ रु’ प्रचण्डको प्रश्न छ । त्यस्तै उनले मुलुक सिस्टममै चल्नुपर्ने भन्दै सिस्टम बसाउन सबैले पहल गर्नुपर्ने बताए। ‘तर, यसो भन्दै गर्दा देशमा के भइरहेको छ रु संवैधानिक परिषद् बैठक, सिफारिस र नियुक्ति हेर्दा सिस्टम मिचिएको छ’, प्रचण्डको भनाइ छ। उनले ओलीको निरंकुशतन्त्र पराजित गर्न संयुक्त आन्दोलन जरुरी भएको भन्दै त्यसका लागि राजनीतिक पार्टीलगायत नागरिक समाजलगायतसँग छलफल भइरहेको र सम्भवत फागुन पहिलो साताबाट संयुक्त आन्दोलन अघि बढ्न सक्ने बताए।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।