भट्टका बलात्कारी र हत्यारालाई कारबाही गर्न दाहाल-नेपाल समूहको माग



काठमाडौं । विभाजित नेकपाको दाहाल–नेपाल समूहले बैतडीकी किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या भएको घटनामा संलग्नलाई कारवाही गर्न माग गरेको छ । अध्यक्षद्वय माधवकुमार नेपाल र पुष्पकमल दाहालले आज एक विज्ञप्तिमार्फत यही माघ २२ गते बैतडीको दोगडाकेदार गाउँपालिका-७ चडेपानी निवासी भट्टको बलात्कारपछि हत्या भएको घटनाले आफूहरु स्तब्ध र मर्माहत भएको उल्लेख गरेका छन् ।

विद्यालयबाट घर फर्किंदै गरेको बेला १७ वर्षीय किशोरी भागरथीमाथि भएको पाशविक र अमानवीय कुकृत्यको नेकपाले घोर भत्र्सना गरेको छ । अध्यक्षद्वयको विज्ञप्तिमा भनिएको छ, “डेढ वर्षअघि निर्मला पन्तको हत्या र त्यसमा न्याय नपाएको अवस्थाले सिर्जना गरेको आम जनताको आक्रोश सेलाउन नपाउँदै बैतडीमा घटेको समान प्रकृतिको घटनाले आम नागरिकलाई शान्ति सुरक्षा दिन राज्यसंयन्त्र असफल भएको तथ्यलाई नै प्रमाणित गरेको छ ।”

विगतमा निर्मला पन्तको अनुसन्धान जस्तै यो घटनामा जिम्मेवार बन्न सरकारसँग आग्रह गर्दै नेकपाले सत्यतथ्य सार्वजनिक गरी दोषीमाथि कडा कारवाही गर्न माग गरेको छ । नेकपाले मृतक किशोरी भागरथीप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै पार्टीका तर्फबाट शोकसन्तप्त परिवारमा समवेदना व्यक्त गरेको छ ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्